पेचिङ (चीन) । कोरोना भाइरसको संक्रमण फैलिने क्रम सुस्त बनाउने प्रयासस्वरूप चीनमा बन्द रहेका सिनेमाघरहरू फेरि खुल्न थालेका छन् । सोमवारदेखि कम जोखिम भएका स्थानहरूमा सिनेमाघर खोल्न सकिने चाइना फिल्म एड्मिन्स्ट्रेशन (सीएफए)ले बताएको हो ।
अहिले चीनभर अधिकांश स्थानलाई संक्रमणको कम जोखिम भएको स्थानका रूपमा वर्गीकृत गरिएको छ । त्यसैले देशभर लगभग सबै सिनेमाघर खुल्ने अनुमान गरिएको छ । महामारी नियन्त्रण गर्न जनवरीमा चीनले कठोर लकडाउन लगाएपछि सिनेमाघरहरू पनि प्रभावित भएका थिए । अहिले केही सिनेमाघर त स्थायी रूपमै बन्द भइसकेका पनि छन् ।
खुल्ने भनिएको सिनेमाघरहरूले पनि कुल क्षमताको ३० प्रतिशतमात्रै दर्शक राख्न र पहिले देखाउने गरेकोभन्दा आधा संख्यामा चलचित्र देखाउन भनिएको छ । हलमा आउने दर्शकहरूको शरीरको तापक्रम नापिने छ । दर्शक र सिनेमाघरका कर्मचारी सबैले मास्कको अनिवार्य प्रयोग गर्नु पर्ने छ ।
यसबाहेक पनि चलचित्रको टिकट अनलाइन किन्ने, फरक–फरक समूहका दर्शकहरू कम्तीमा एक मिटर दूरी कायम गरेर बस्नु पर्नेलगायत नियमहरू ल्याइएको छ । नयाँ सुरक्षा नियमअनुसार सिनेमाघरमा खानेकुरा र पेय पदार्थ बेच्न पाइने छैन । एजेन्सी