काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीले आफ्ना छोरा केपी ओलीलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिमा तत्काल कुनै पनि हालतमा जित्न नसक्ने बताएका छन् ।
ज्योतिषीय कोणबाट विश्लेषण गर्दै उनले प्रचण्डको भन्दा माधव कुमार नेपालको ग्रह बलियो भएकाले बरु माधव नेपाल एकपटक शक्तिमा आउने सम्भावना समेत औंल्याएका छन् । अहिले केपी ओलीको केही खराब ग्रह चलेका कारण पार्टी र सत्तामा हलचल भएको बताउँदै उनले अब फेरि केपी ओलीको ग्रह बलियो बन्ने दिशामा अग्रहसर भइसकेको दाबी पनि गरेका छन् ।
‘शनिले प्रधानमन्त्री ओलीको ग्रहलाई अहिले टाढैबाट बाधा पुर्याइरहेको छ । शनिले जित्यो भने अबको डेढ वर्षजति उनलाई समस्या पर्न सक्छ,’ ओलीका पिताले भने, ‘तर शनिले जित्ने सम्भावना निक्कै कम छ । किनभने केपीका अगाडि सूर्य ग्रह धेरै बलियो अवस्थामा छन् । त्यसैले संसार नै उनको वरिपरि घुमिरहन्छ ।’ संघर्षहरुमा कहिलेकाहीँ अरु बलियो बनेको देखिए पनि परिणाममा केपी ओली नै बलियो रहने उनको दाबी छ ।
‘मेरो दृष्टिकोणमा सूर्य बलियो भएका कारण भरसक केपीलाई अहिले फाल्न मुश्किल छ । कथंकदाचित फालिहाले भने ६ महिनापछि फेरि उनी फर्किएर र शक्तिशाली बन्न सक्छन्’, पिता मोहनप्रसादले भने । केपी ओलीलाई हटाउन प्रचण्ड खुब लागिरहेका भए पनि केपीलाई जित्न उनले नसक्ने दाबी उनको छ । बरु सर–सल्लाहमा आए माधवकुमार नेपालको सम्भावनाहरु बलियो रहेको उनले बताएका छन् ।
‘माधव नेपाल अघि सरे भने उनले पार लगाउँछन्,’ उनले भने, ‘अहिले माधव नेपालका ग्रह प्रचण्डका भन्दा राम्रा र अगाडि छन् । तर, सत्ता र शक्तिमा पुग्न उनको एकल बल भन्दा सर–सल्लाह प्रभावकारी देखिन्छ ।’