सार्वजनिक बाटोमा तगारो, बाटो खोल्न न्यायिक समितिमा उजुरी

रामेछाप । मन्थली नगरपालिका–१ मन्थली स्थित रणजोर खोलाको मोटरेबल पुलबाट तल किनारै किनार तामाकोशी नदी तर्फ जाने सार्वजनिक बाटोमा तगारो लगाई बन्द गराएको भन्दै बाटो बन्द गराउने विरुद्ध न्यायिक समिति मन्थलीमा उजुरी दर्ता भएको छ ।

बिगत दश वर्षभन्दा पहिला देखी रणजोर खोलाको किनारैकिनार सडक रहेको र उक्त सडक मार्ग हुँदै लास लिएर हिड्ने मलामी, कृषक, विद्यालयमा अध्ययरत बालबालिकाहरु पैदल हिड्ने बाटो मन्थली नगरपालिका–१ का डेकबहादुर श्रेष्ठ र कृष्ण वहादुर श्रेष्ठले बन्द गराएका छन् । उक्त सडक बन्द गराएपछि पैदल हिड्नबाट वञ्चित भएको भन्दै मन्थली नगरपालिका–१ की डुकुना पोखरेल (घिमिरे) को नेतृत्वको टोलीले मन्थली नगरपालिकाको न्यायिक समितिमा उजुरी गरेका हुन् ।

रणजोर खोलाले वर्षेनी खेत कटान गरेपछि सिंचाई डिभिजन कार्यालय रामेछापले केही वर्षअघि लाखौं मूल्य खर्चेर उक्त खोलाको दाया बायाँ दुवै तर्फ तारजालीको तटवन्ध गरेको थियो । उक्त तटवन्द माथिल्लो भागवाट सडक निकालेर यातायातका साधन गुड्न सक्ने र त्यही मार्ग हुँदै पैदल यात्रीहरुलाई हिड्न सहज भएको थियो ।

तटवन्द सँगै खोलाको दुवैतर्फ कटान रोक्नको लागि सिंचाई डिभिजन कार्यालयले बृक्षारोपण पनि गरेको थियो । उक्त क्षेत्रको दुवै तर्फ सिसौ र खयर प्रजातीका सयौं विरुवा लगाइएको थियो । ती लगाइएका विरुवा अहिले धेरै ठूलो भएका छन् । सडक रोक्ने बहानामा त्यस क्षेत्रका करिव ५० वटा भन्दा बढी रुख समेत कटान भएको मन्थली नगरपालिका–१ का जनक श्रेष्ठले जानकारी दिए ।

उनले भने– शुरुमा हामीले सडक बन्द गर्ने व्यक्तिहरुसँग छलफल गर्यौ । वन्द गराएको सडक खोल्न आग्रह गर्यौ । तर उहाँहरु सडक खोल्ने नाममा सहमत हुनुभएन । अहिले बनेको सडकमा आफ्नो जमीन पर्ने भन्दै सडक बन्द गराएको जानकारी दिए । यदी सडकमा उनीहरुको जमीन पर्ने भए सडक निमार्ण गर्ने समयमा नै त्यस स्थान रोक्नु पर्ने थियो । अहिले सडक वनेको दशौं वर्षपछि सडक बन्द गराएर टहरा निमार्ण गरेर यातायातका साधन रोक्नु, पैदल हिड्ने मानिसहरुलाई रोक्नु गैर जिम्वेवारीपन भएको भन्दै वाध्य भएर आफुहरु कानुनी उपचारको लागि न्यायिक समितिमा जानु परेको श्रेष्ठले बताए ।

अहिले हामी कानुनी लडाईमा छौं । हाम्रो उजुरीमा न्यायिक समितिले हल गर्छ भन्नेमा छौं । यदी न्यायिक समितिवाट हाम्रो उजुरीको सुनुवाई भएन भने हामी अख्तियार र सर्वोच्च अदालतमा समेत जान तयार भएर बसेका छौं, मन्थली नगरपालिका–१ का कमल विक्रम श्रेष्ठले जानकारी दिए । उनले भने–हामीले यसवाहेक वन विभागमा समेत काठ कटानको उजुरी दिने तयारीमा छौं । देखादेखी सार्वजनिक सडकमा तगारो हालेर सडक अवरोध गर्नु, कटान जोगाउन लगाइएको रुख समेत कटान गर्नु भनेको ठूलो अपराध हो, श्रेष्ठले बताए ।

यता सडक बन्द भएको बिषयमा मन्थली नगरपालिकामा उजुरी आएको मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले जानकारी दिए । उनले भने– सडक बन्द गराएको भन्ने उजुरी आएको छ । उक्त उजुरी मैले न्यायिक समितिमा पठाएको छु । सम्वन्धित वडा अध्यक्षसँग समन्वय गरी दुवै पक्षलाई राखेर छलफल गराएर निकास निकाल्न आफुले निर्देशन दिएको प्रमुख श्रष्ठले बताए ।

Scroll to Top