भवन उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड रामेछाप आउने

रामेछाप । सुनापति गाउँपालिकाको नव निर्मित प्रशासकिय भवन उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बिहिवार रामेछाप आउने भएका छन् ।

गाउँपालिकाको प्रशासनिक भवन आर्थिक वर्ष २०७७÷०७८ बाट निर्माण कार्य सुरु भएको थियो । पालिकामा प्रयाप्त वजेट नहुँदा समयमा भवन निमार्णको काम सम्पन्न हुन सकेको थिएन । भवन निमार्ण शुरु भएदेखी यता गाउँपालिकाले ६ वटा टेण्डर आव्हान गरी निमार्ण व्यवसायी मार्फत काम गरेको थियो ।

प्रशासकिय भवन निमार्णको लागि ४ करोड ५६ लाख ४४ हजार ५ सय १५ रुपैयाँ ४ पैसाको लागतमा निमार्ण सम्पन्न गर्ने गरी टेण्डर आव्हान गरिएकोमा निमार्ण व्यवसायीले घटाघटमा ३ करोड २८ लाख ४६ हजार ८ सय ८० रुपैयाँ ७ पैसामा काम सक्ने गरी ठेक्का सम्झौता भएको थियो । भवनमा १० वटा कोठा र २ वटा हल रहेको सुनापति गाउँपालिकाका अध्यक्ष ठूलाकान्छा तामाङले जानकारी दिए ।

उनले भने– गाउँपालिकामा वजेट नहुँदा समयमा भवन निमार्ण कार्य सम्पन्न हुन सकेन । पालिकामा आएको वजेट वर्षैपिच्छे थप गर्दै टेण्डर आव्हान गरेर प्रक्रिया पुर्याउदा भवन निमार्णमा ढिला भएको हो । उक्त भवन निमार्ण सम्पन्न भएकाले सो भवनको उद्घाटन प्रधानमन्त्री प्रचण्डले गर्ने निधो भएसँगै विहिवार उद्घाटन गरिने र सो भवनवाट कार्यालयको नियमित सेवा आरम्भ गरिने अध्यक्ष तामाङले बताए ।

स्थानिय तहको निर्वाचनपछि सुनापति गाउँपालिकाले प्रिफ्याब भवनबाट सेवा दिदै आएको थियो । गाउँपालिकाको सुविधा सम्पन्न भवन निमार्ण सम्पन्न भएसँगै स्थानिय नागरिकहरु हर्षित भएका छन् । भवन अभावमा पालिकाले नागरिकलाई सहज तरिकाले सेवा दिन सकेको थिएन ।

Scroll to Top