राष्ट्रपति रनिङ शिल्डको उपाधि मन्थली नगरलाई

रामेछाप । जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको यसवर्र्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि मन्थली नगरपालिकाले जितेको छ ।

उमाकुण्ड गाउँपालिकाको प्रीतिमा भएको खेल प्रतियोगीतामा मन्थली नगरपालिकाले २५ स्वर्ण पदक सहित प्रथम उपाधि हात पार्न सफल भएको हो । मन्थली नगरले २५ रजत र ३१ कांस्य पदक सहित कुल ८१ पदक आफ्नो पोल्टामा पार्न सफल भएको थियो ।

त्यस्तै उमाकुण्ड गाउँपालिकाले १६ स्वर्ण पदक जित्दै सह–आयोजक उमाकुण्ड गाउँपालिका दोस्रो स्थान हात पार्न सफल भएको छ । उमाकुण्ड गाउँपालिकाले ७ रजत र २६ कांस्य सहित ४९ पदक हात पारेको हो । यसैगरी रामेछाप नगरपालिकाले १० स्वर्ण, १० रजत र २२ कास्य सहित ४२ वटा पदक जितेर तेस्रो स्थान हात पार्न सफल भएको छ ।

उक्त प्रतियोगितामा लिखु तामाकोसी गाउँपालिकाले ४ स्वर्ण, १४ रजत र ९ कांस्य सहित २७ पदक जित्न सफल भएको छ भने दोरम्बा शैलुङ गाउँपालिकाले ४ स्वर्ण, ५ रजत र ६ कांस्य गरी १५ वटा पदक जितेको छ । त्यस्तै खाँडादेवी गाउँपालिकाले ३ स्वर्ण, ३ रजत र २ कांस्य गरी ८ पदक हात पारेको छ । गोकुलगंगा गाउँपालिका २ स्वर्ण, ४ रजत र ६ कांस्य गरी १२ पदक हात पार्न सफल भएको छ भने सुनापति गाउँपालिकाले भने एक स्वर्ण पदक जित्न सफल भएको छ । प्रतियोगीतामा रामेछापका ८ वटै स्थानिय तहको सहभागीता रहेको थियो ।

उमाकुण्ड गाउँपालिकाबाट खेलकुद प्रतियोगीतामा भाग लिई स्वर्ण, रजत, कांस्य पदक जित्ने प्रत्येक खेलाडी र प्रशिक्षकलाई जनही ५ हजार, ३ हजार र २ हजारका दरले नगद पुरस्कार दिने गाउँपालिकाले जनाएको छ । खेल समापन कार्यक्रममा विजेता खेलाडीलाई वाग्मती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, प्रतिनिधि सभाका पूर्व सदस्य देवशंकर पौडेल, वाग्मती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठ र उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले सिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

Scroll to Top