रामेछाप । गाडी सिक्ने क्रममा दोरम्वा शैलुङ गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तानले दुर्घटना गराएको गाडीको मर्मत खर्च गाउँपालिकाको वजेटवाट तिर्ने गर्ने निर्णय गरेको छ ।
पालिका अध्यक्ष मोक्तानले आफुले प्रयोग गर्दै आएको प्रदेश ३–०१, ००२ झ ५१०६ नं को गाडी सिक्ने क्रममा गत कार्तिक १ गते दुर्घटना गराएका थिए । उक्त गाडी दुर्घटनापछि मर्मतको लागि राजधानी पठाइएको थियो । गाडी मर्मतमा ५ लाख ५६ हजार ६ सय ३ रुपैयाँको बिल गाउँपालिकामा पेश गरिएको छ । बील अनुसारको रकम गाउँपालिकाले नै भुक्तानी गर्ने गाउँपालिकाको बैठकले निर्णय गरेको छ ।
नेकपा माओवादी केन्द्रवाट निर्वाचित अध्यक्ष मोक्तानले शक्तिको दुरुपयोग गर्दै पालिकामा सरकारी तलब दिएर चालक भर्ना गरिएपनि अध्यक्ष मोक्तानलाई गाडीको मोह लागेसँगै आफैले पार्किङ स्थलवाट गाडी झिकेर टोकरपुरको स्वास्थ्य चौकी क्षेत्र घुमाएर पुनः पालिकाको पार्किङ स्थानमा राखेका थिए । पुनः अध्यक्षले पार्किङ स्थलवाट गाडी झिकेर निकाल्न खोज्दा अकस्मात एक्सिलेटर दाभ्दा गाडी उछिल्टीएर कान्लामा जोतिन पुगेको थियो । दुर्घटनामा अध्यक्ष सकुसल भएपनि गाडीको अघिल्लो भागमा क्षती पुगेको थियो ।
सवारी चालक अनुमती पत्र नै नभएका अध्यक्ष मोक्तानले सरकारी गाडि सिक्ने क्रममा दुर्घटना गराएपछि उनको सामाजिक सञ्जाल मार्फत चौतर्फी रुपमा विरोध भएको थियो । अध्यक्ष मोक्तानले आफ्नो शक्तिको दुरुपयोग गर्दै सरकारी गाडी दुर्घटना गराएको र उक्त गाडी मर्मत गर्दा हुने खर्च पालिका अध्यक्ष आफैले व्यहोर्नुपर्ने माग नागरिकहरुले राखेका थिए ।
नागरिकहरुले गरेको विरोधको वेवास्था गर्दै गाउँपालिकाले भने अध्यक्ष मोक्तानले दुर्घटना गराएको गाडीको मर्मत खर्च पनि गाउँपालिकाकै कोषवाट खर्च गर्ने निर्णय गरेको छ । गाडी सिक्ने क्रममा भएको दुर्घटनापछि गाडी मर्मतको पैसा गाउँपालिका अध्यक्ष आफैले व्यक्तिगत रुपमा तिर्नुपर्ने माग नागरिकहरुको रहेको छ ।