
रामेछाप । प्रधानमन्त्री विरुद्ध विभिन्न अभिव्यक्ति दिदै आएका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका छन् ।

प्रधानमन्त्री ओली विरुद्ध दिएको अभिव्यक्ति प्रति माफी माग्न लगाउँदा राज्य मन्त्री तामाङले अस्वीकार गरेको भन्दै ओलीले उनलाई बुधबार बर्खास्त गरेका हुन् । नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन नहुने भन्दै राज्यमन्त्री तामाङले असन्तुष्टि जनाउँदै विभिन्न कार्यक्रमहरुमा भन्दै आएका थिए ।

त्यस्तै केही हप्ता अघि राज्यमन्त्री तामाङले आफू सहभागी कार्यक्रममा सो मन्त्रालयका सचिव सुरेश आचार्यले कार्यक्रम बहिष्कार गरेको भनि सचिव आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए । उक्त घटनापछि राज्य मन्त्री तामाङले सचिवलाई स्पष्टीकरण सोधेको भन्दै प्रधानमन्त्री ओली उनीप्रति रुष्ट बन्दै आएका थिए ।
तामाङ साउन १८ मा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री नियुक्त भएका थिए ।