रामेछाप–लुक्ला उडान अवरुद्ध

रामेछाप । खराव मौसम सँगै बिहान देखी अनवरत रुपमा परेको वर्षातका कारण रामेछाप विमानस्थलवाट सोलुको लुक्ला हुने सवै हवाई उडान अवरुद्ध भएको छ ।

रामेछापवाट लुक्ला जान हिडेका बिदेशी पर्यटकहरु मौसम खुल्ने प्रतिक्षामा रामेछाप विमानस्थल आसपास बसेका छन् । आज बिहान देखी निरन्तर रुपमा वर्षा भइरहेको र बाक्लो कुहिरो समेत लागेका कारण रामेछाप विमानस्थलवाट कुनै पनि उडान हुन सकेका छैनन् । रामेछापमा मात्रै हैन लुक्ला विमानस्थलमा समेत बाक्लो कुहिरो सँगै वर्षा भइरहेकाले उडान तालिका अनुसार जहाज उडान हुन नसकेको रामेछाप नागरिक उडड्यन कार्यालयका एटिसी प्रज्वल गुरागाईले जानकारी दिए ।

आज रामेछाप विमानस्थलवाट लुक्लाको लागि १५ वटा उडान भर्ने तालिका रहे पनि एउटा पनि उडान हुन सकेको छैन् । रामेछापबाट लुक्ला र लुक्लावाट रामेछाप आउजाउ गर्ने विदेशी पर्यटकहरु अहिले दुवै तर्फको विमानस्थलमा मौसम खुल्ने प्रतिक्षामा कुरेर बसेका छन् । मौसम खराव हुँदा केही निजी हेलिकप्टर बुक गराएर विदेशी पर्यटकहरु रामेछापवाट लुक्ला जाने गर्दथे । आज भने एउटा पनि हेलिकप्टरले समेत उडान भरेका छैनन् ।

मौसम खराव भएसँगै हवाई उडान नहुँदा केही पर्यटकहरु स्थलमार्ग हुँदै लुक्ला तर्फ जाने गर्दछन् भने केही पर्यटकहरुले हेलिकप्टर रिर्जभ गरेर लुक्ला उड्ने गरेका छन् । पर्यटकहरु राजधानी काठमाण्डौंवाट विपी राजमार्ग हुदै यातायातका साधन मार्फत रामेछाप आउने र विमान मार्फत रामेछाप विमानस्थलवाट लुक्ला जाने गर्दछन् ।

पर्यटकहरु सगरमाथा क्षेत्र भ्रमण गर्ने वर्षको दुई सिजनमा रामेछाप विमानस्थलवाट लुक्ला जाने गरेका छन् । वसन्त ऋतुको चैत्रदेखी जेठसम्म र शरद ऋतुको असोज पहिलो हप्ता देखी मङ्सीर दोश्रो हप्तासम्म लुक्ला उडान हुने गर्दछ । हाल तारा एयर, समिट एयर र सिता एयर गरी तीन निजी वायुसेवा कम्पनीले रामेछापवाट लुक्लाको लागि उडान भर्दै आएका छन् ।

Scroll to Top