विमान कम्पनीले रामेछाप–काठमाण्डौं उडान तालिका घटाए

रामेछाप । रामेछापबाट काठमाण्डौंको लागि हप्ताको तीन उडान भर्दै आएका तीन निजी वायु सेवा कम्पनीहरुले अव हप्ताको एक उडान मात्रै भर्ने भएका छन् ।

असोज महिनादेखी रामेछाप–काठमाण्डौं हप्ताको तीन उडान भर्दै आएका वायु सेवा कम्पनीहरुले यात्रुको चाप घटेसँगै उडान तालिका घटाएका हुन् । असोज महिनामा परेको अविरल वर्षासँगै विपी राजमार्ग बन्द भएपछि अलपत्र परेका यात्रुहरुलाई मध्यनजर गर्दै नियमित हवाई उडान हुनु पर्ने माग गर्दै स्थानिय शान्तिदिप युवा क्लव र जेनजी समुहले रामेछापवाट काठमाण्डौंको लागि उडान भर्न माग गरेका थिए ।

यसअघि रामेछाप विमानस्थलवाट सोलुको लुक्लाको लागि मात्रै उडान भर्दै आएका थिए । रामेछापवाट सोलुको लागि उडान भरेता पनि रामेछापवाट काठमाण्डौं उडान नभर्दा रामेछापका नागरिकहरुले सेवा नपाएको भन्दै स्थानियहरुले चर्को विरोध जनाउँदै आएका थिए । शान्तिदिप युवा क्लव र जेनजीको सोही मागलाई सम्वोधन गर्दै रामेछापवाट सोलुको लुक्ला उडान भर्दै आएका तीन वायु सेवा कम्पनीहरुले हप्ताको तीन दिन रामेछाप–काठमाण्डौं उडान भर्ने सहमती जनाएका थिए । सो सहमती अनुसार असोज महिनादेखी प्रत्येक हप्ताको वुधवार समिट एयर, शुक्रवार सिता एयर र शनिवार तारा एयरले रामेछाप–काठमाण्डौं उडान भर्दै आएका थिए ।

अहिले दशैं र तिहार मनाउन आएका नागरिकहरु पनि चाडवाड मनाएर आआफ्नो कर्मथलो फर्किसकेका र अवरुद्ध भएको विपी राजमार्ग समेत निमार्ण भई नियमित यातायातका साधनहरु सञ्चालन भएसँगै हवाई जहाजमा यात्रा गर्ने यात्रुको संख्या घटेपछि विमान कम्पनीहरुले रामेछाप–काठमाण्डौं उडान तालिका हटाउने तयारी गरेका थिए ।

सो विषयलाई लिएर उडान तालिका हटाउने भन्दा पनि हप्तामा एक उडान भएपनि राख्नुपर्ने माग सहित शान्तिदिप युवा क्लवका प्रतिनिधिहरुले हवाई कम्पनीका प्रतिनिधिहरुसँग लिखित रुपमा माग गरेका थिए । सोही माग वमोजीम अव प्रत्येक हप्ताको शुक्रवार विमान कम्पनीहरुले रामेछाप–काठमाण्डौं उडान भर्ने सहमती भएको शान्तिदिप युवा क्लवका अध्यक्ष सुरेश उदासले जानकारी दिए ।

उनले भने–हप्ताको एक उडान हुँदा पनि विरामी, अशक्त, गर्भवती महिला, जेष्ठ नागरिकहरुलाई आवतजावतमा सहज हुन्छ । उडान नहुँदा विरामीहरुले विपी राजमार्ग हुँदै यातायातका साधनमा कष्टकर यात्रा गर्नुपर्ने वाध्यता रहेको छ । सहमती अनुसार कार्तिक १४ गते सीता एयर, कार्तिक २१ गते तारा एयर र कार्तिक २८ गते समिट एयरले रामेछाप–काठमाडौँ रुटमा उडान भर्नेछन् । यहीँ तालिका अनुसार पछिल्लो समयमा पनि नियमित रुपमा हवाई सेवा संञ्चालन हुने सहमती भएको क्लवका अध्यक्ष उदासले बताए ।

Scroll to Top