रामेछाप वाणिज्य संघले आफैले शुरु गर्यो बजार अनुगमन

रामेछाप । पछिल्लो समय सरकारले व्यवसायीले अनिवार्य हरेक सामाग्रीको मूल्यसूचि राख्नुपर्ने लगाएतमा कडाई गरेसँगै सरकारी अनुगमन अगाडी नै आफ्ना व्यवसायीहरुको अनुगमन तथा सचेतीकरण कार्यक्रम लिएर रामेछाप उद्योग वाणिज्य संघ व्यापारी माझ निस्किएको छ ।

उक्त संस्थाले वुधवारवाट वजार अनुगमन र सचेतिकरण कार्यक्रम लिएर व्यवसायीहरुकोमा पुगेको हो । उक्त अनुगमन समितिले व्यवसायीहरुको पसलमा गएर म्याद गुज्रेका सामाग्री छ छैन एकिन गर्ने, उपभोक्ताहरुले देख्नेगरी मूल्य सूचि राखेको छ छैन हेर्ने, खरिद तथा विक्री खाता र विल विजक विलहरु जारी भए नभएको बिषयमा आफ्नो व्यवसायीहरुलाई सल्लाह दिने र पसलमा सरसफाई ध्यान दिनुपर्ने जस्ता बिषय समेटिएको छ ।

सदरमुकाम मन्थलीमा गरिएको अनुगमन तथा सचेतिकरण कार्यक्रमको पहिलो दिन ३२ वटा पसलहरुमा पुगेको रामेछाप उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष सुरेश उदासले जानकारी दिए । उनले भने– जिल्ला अनुगमन समिति र नगरपालिकाले अनुगमन गर्दा कतीपय व्यवसायीहरुले जानअन्जानमा जरिवानामा पर्ने र म्याद ग्रुजेका अखाद्य वस्तु समेत जफत गर्ने गरेकाले जिल्ला स्तरीय अनुगमन अगावै आफ्ना सदस्यहरुलाई जिल्ला अनुगमन समितिले गर्न सक्ने सम्भावित अनुगमनका बिषय र व्यवसायीहरुले पालना गर्नुपर्ने नियमका बिषयमा जानकारी गराएको उपाध्यक्ष उदासले बताए ।

रामेछाप उद्योग्य वाणिज्य संघले वाणिज्य उपाध्यक्ष उदासको संयोजकत्वमा ५ सदस्यीय वजार अनुगमन तथा व्यवस्थापन उप–समिति गठन गरेको छ । सोही समितिले अहिले दैनिक रुपमा संस्थामा आवद्धता भएका सवै व्यवसायीहरु माझ पुग्ने गरी अनुगमन शुरुवात गरेको हो । उक्त संस्थामा जिल्लाभरका करिव एक हजार ७ सयको हाराहारीमा व्यवसायीहरु आवद्धता रहेका छन् ।

Scroll to Top