रामेछाप । विभिन्न व्यक्तिहरुको सुनचाँदी चोरी गरि ल्याएको सुन खरिद गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय रामेछापले थप दुई सुनचाँदी व्यवसायीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सदरमुकाम मन्थलीमा सुनचाँदी व्यवसाय गर्दै आएका दीपलक्ष्मी सुनचाँदी पसलका संचालक डिलवहादुर रसाईली र सुविना सुनचाँदी पसलकी संचालिका निशा विश्वकर्मा रहेका छन् । उनीहरुले अस्मिता श्रेष्ठ (माझी) को कानमा लगाएको सुन मैया कार्कीले चोरी गरि ती सुन पसलमा विक्री गरेको भन्ने बयान प्रहरीमा दिएको आधारमा दुईवटा सुनपसलमा छापा मार्दा ४२.२ प्वाइन्ट सुन समेत बरामद गरेपछि प्रहरीले दुई सुनचाँदी पसलका सञ्चालकलाई शुक्रवार पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै व्यवसायीलाई रामेछाप जिल्ला अदालतवाट ७ दिनको म्याद थप गरि प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतले जानकारी दिए । यसअघि चोरिको सुन खरिद गरेको अभियोगमा पक्राउ परेका सुन व्यवसायी सिताराम लोहार हाजिरी जमानतमा छुटेका छन् भने सुन चोरी अभियोगमा पक्राउ परेकी गोकुलगंगा गाउँपालिका–२ ठोसेकी मैया कार्की प्रहरी हिरासतमा नै रहेकी छिन् ।


जिल्लाका विभिन्न स्थानमा विभिन्न मितिमा चोरी भएका सुनचाँदीका गरगहना मन्थलीका सुनचाँदी व्यवसायीहरुले खरिद गर्ने गरेको भेटिएको प्रहरीले जनाएको छ । चोरीमा संलग्न मैया कार्कीले आफुले चोरी गरि ल्याएको सुन मन्थलीका विभिन्न पसलमा विक्री गर्ने गरेको बयान प्रहरी र सरकारी वकील कार्यालयमा दिएकी छिन् ।
सोही बयानका आधारमा प्रहरीले मन्थलीका तीन व्यवसायीलाई पक्राउ गर्नुको साथै पसलवाट चोरीका सामान समेत बरामद गरेको छ भने अन्य व्यवसायी पनि थप अनुसन्धानको घेरामा रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।




