
रामेछाप–१६ चैत्र ।
रामेछाप । शुक्रवार रिपोटिङको लागि गएका पत्रकार सुरेश रजकको हत्या र विभिन्न मिडियाहरु माथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ रामेछापले शनिवार विरोध सभा गरेको छ ।

महासंघले सदरमुकाम मन्थलीको देवकोटा चोकमा एक घण्टा विरोध सभाको आयोजना गरेको हो । विरोधसभामा मृतक पत्रकार रजकप्रति श्रृद्धाञ्जली व्यक्त गर्दै एक मिनेट मौनधारणा समेत गरिएको थियो । सो सभामा सहभागी पत्रकारहरुले पत्रकार सुरेश रजकको हत्या जो सुकैले गरेको भएता पनि हत्यामा संलग्नलाई कानुनी दायरमा ल्याई हदैसम्मको कारवाहीको माग गरेका छन् ।

पत्रकारिता लोकतन्त्रको आधारभूत खम्बा भएकाले पत्रकारहरूमाथि कुनै पनि हिंसात्मक गतिविधि सह्य नहुने पत्रकार महासंघ रामेछापले जनाएको छ । त्यस्तै आन्दोलनको क्रममा विभिन्न संञ्चारमाध्यममा भएको तोडफोड र आगलागीका घटनाको समेत विरोध जनाएको छ ।
रामेछापका पत्रकारहरुले घटनामा संलग्नलाई कानुनी दायरमा ल्याई पत्रकारहरूको सुरक्षा, प्रेस स्वतन्त्रताको संरक्षण गर्न सरकारको ध्यानाकर्षणको लागि विरोध सभाको आयोजना गरिएको नेपाल पत्रकार महासंघ रामेछापले जनाएको छ ।