
रामेछाप । यात्रु लिएर काठमाण्डौंबाट रामेछापको उमाकुण्ड गाउँपालिका–२ बाम्ती भण्डारको लागि छुटेको यात्रु बाहक बस काभ्रेको रोशी गाउँपालिका–९ दाउन्नेस्थित बिपी राजमार्गमा दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् ।

प्रदेश ३–०१–००६ ख १३३९ नम्बरको अरनिको सुपर बस बिहान करिव साडे ८ बजेतिर दाउन्नेको सडकमा ब्रेक फेल भई चिप्लिएर खाँदबारीबाट काठमाडौंतर्फ आउँदै गरेको मे १ ख ३३९४ नं को हाइस पनि ठोक्किएर सडक मुनी बाँसको झ्याङमा खसेको छ । सो दुर्घटनामा परी बसमा सवार मध्ये ११ जना घाइते भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परी घाइते मध्ये एकको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको घटनास्थलवाट तत्काल उद्धार गरी मंगलटारमा रहेको प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको र गम्भिर घाइते भएकालाई थप उपचारको लागि काठमाण्डौं पठाउने तयारी भइरहेको पनि प्रहरी निरीक्षक गिरीले बताए ।