मोटरसाइकल दुर्घटनामा ३ स्वास्थ्यकर्मी घाइते

रामेछाप । मन्थली नगरपालिका–१३ फुलासी स्थित आरुबोटे सडक खण्डमा सोमवार साँझ बागमती प्रदेश ०२–००७ प ३८७४ मोटरसाइकलको ब्रेक फेल भई दुर्घटना हुँदा ३ जना स्वास्थ्यकर्मी घाइते भएका छन् ।

उक्त दुर्घटनामा परी घाइते हुनेहरुमा मोटरसाइकलका चालक सर्लाही जिल्ला गोठेटा नगरपालिका–२ वेलुवाजदी घर भई हाल दोलखाको मेलुङ्ग गाउँपालिका–६ मा रहेको स्वास्थ्य चौकीमा कार्यरत वर्ष २५ का हरेन्द्र बैठा रहेका छन् ।

त्यस्तै गुल्मी घर भई दोलखाको मेलुङ्ग गाउँपालिका–२ मा रहेको स्वास्थ्य चौकीमा कार्यरत वर्ष २१ का मनीष पन्थी र सर्लाही जिल्ला बरखवा नगरपालिका–१५ टिपरभित्ता घर भई हाल दोलखाको मेलुङ्ग गाउँपालिका–१ मा रहेको स्वास्थ्य चौकीमा कार्यरत वर्ष २४ का उजीत ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रञ्जन गिरीले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएकाहरुको स्थानियहरुले तत्काल उद्धार गरी दोलखाकै किर्नेटारमा रहेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । उपचार पछि प्रहरीले मोटरसाइकल चालक हरेन्द्र बैठालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अघि वढाएको छ । उनीहरु एउटै मोटरसाइकलमा तीनजना सवार थिए ।

दोलखाको मेलुङ स्वास्थ्य चौकीमा कार्यरत उनीहरु रामेछापको मन्थली नगरपालिका–१३ फुलासीको सडकमार्ग हुँदै दोलखाको सदरमुकाम चरिकोट तर्फ जादै थिए ।

Scroll to Top