तरुण दलले दियो आगलागी पिडीतलाई घरै पिच्छे ट्याङ्की

रामेछाप । तरुण दल रामेछापका पदाधिकारीहरुले रामेछाप नगरपालिका ९ टार गाउँका १३ घरधुरी आगलागी पिडीतलाई घरै पिच्छे ५ सय लिटरको दरले खानेपानी जम्मा गर्न हिलटेक ट्याङकी वितरण गरेको छ ।

यहि चैत्र ३ गते टार गाउँ नजिकैको सामुदायिक वनमा लागेको आगो हावाको बेगसँगै वस्तीमा पसेर आगलागी हुन पुगेको थियो । आगलागीवाट घरमा भएका सम्पूर्ण सामाग्रीहरु नष्ट भएर त्रिपालको भरमा बारीको पाटामा बास बस्दै आएका आगलागी पिडीतलाई खानेपानी राख्न सहयोग पुगोस् भन्ने हेतुले उक्त ट्याङकी बिरतण गरिएको नेपाल तरुण दल रामेछापका उपाध्यक्ष बाशु फुयालले जानकारी दिए ।

आगलागी पिडीतलाई धेरै सामाजिक संघसंस्थावाट पनि सहयोग प्राप्त भइरहेकाले ती सवै सहयोग नगरपालिकाले एकद्धार प्रणालीवाट वितरण गरेकाले कुनै पनि समस्या नरहेको रामेछाप नगरपालिकका प्रमुख लवश्री न्यौपानेले जानकारी दिए । उनले अहिले पनि रामेछाप जन्मभूमी भएर कर्मभूमीको रुपमा देश बाहिर रहनुहुने रामेछापका दाजुभाई दिदीवहिनीहरुले सहयोग रकम संकलन गरेर अग्नी पिडीतलाई पठाउने काम भइरहेको बताए ।

तरुण दल रामेछापका अध्यक्ष काजीवहादुर खड्का (दिनेश), उपाध्यक्ष जीवन कार्की लगाएतको टोली आगलागी पिडीतको घरमा नै पुगेर सो वडाका वडाअध्यक्ष समिर कार्कीको रोहवरमा सामाग्रीहरु हस्तान्तरण गरिएको तरुण दल रामेछापले जनाएको छ । टारवारीमा लागेको आगलागीमा परी १२ घर र २६ गोठ जलेर नष्ट भएको थियो । उक्त आगलागीमा परी करिव ८६ लाख रुपैयाँको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Scroll to Top