रामेछापमा बलेरो दुर्घटनामा परी दुईको मृत्यु,घाइते साेह्र,तीनकाे अवस्था गम्भिर

रामेछाप–२८ चैत्र ।
रामेछाप । मन्थली नगरपालिका–३ को ऐरम्बास देवीथान मन्दिरबाट वडा नं २ कठजोर तर्फ फर्कदै गरेको बा १६ च ६४७६ नम्वरको डबल क्याप बलेरो बिहिवार दिउँसो दुर्घटना परी घटनास्थलमा नै दुईजनाको ज्यान गएको छ भने उक्त दुर्घटनामा परी १६ जना घाइते भएका छन् ।

देविथान मन्दीरमा पुजा सकेर घर फर्कदै गर्दा उक्त गाडी मन्थली नगरपालिका वडा नं २ र ३ को सीमानामा पर्ने ठाँटीमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी मन्थली नगरपालिका–२ का वर्ष ६२ का कृष्णनारायण श्रेष्ठ र वर्ष १२ की भुमिका श्रेष्ठको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

दुर्घटनामा परी घाइतेहरुको तत्काल स्थानिय, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलवाट उद्धार गरी उपचारको लागि मन्थली अस्पताल पठाइएको छ । घाइतेहरु सवैको मन्थली अस्पतालमा उपचार भइरहेको छ । गाडी दुर्घटनाको बिषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक प्रदीप कुमार सिंहले जानकारी दिए ।

दुर्घटनामा परी मन्थली नगरपालिका–३ का वर्ष ५१ का शेरबहादुर रोका, वर्ष ५६ का रुद्रराज श्रेष्ठ, वर्ष ६४ का जगन्नाथ श्रेष्ठ र वर्ष ६१ का कालु श्रेष्ठ रहेका छन् । त्यस्तै दुर्घटनामा परी सोही वडाका वर्ष ५६ का कृष्ण वहादुर रोका, वर्ष २१ की करुणा श्रेष्ठ, वर्ष १० की नोर कुमारी पाण्डे, वर्ष ५५ का कृष्ण नारायण श्रेष्ठ, वर्ष ६५ का कैलाश नारायण श्रेष्ठ र वर्ष ३७ को खित बहादुर पाण्डे रहेका छन् ।

त्यसैगरी सोही दुर्घटनामा परी मन्थली नगरपालिका–२ का वर्ष ६६ का जहानसिंह नेपाली, वर्ष ६८ का होम नारायण श्रेष्ठ र वर्ष ४१ का ठाकुर नारायण श्रेष्ठ रहेका छन् । त्यस्तै सोही वडाका वर्ष ३६ का मनोज कुमार श्रेष्ठ, वर्ष ८ की तुलसा श्रेष्ठ र वर्ष ४५ का चित्र नारायण श्रेष्ठ रहेका छन् ।

घाइते मध्ये खित बहादुर पाण्डे, जगन्नाथ श्रेष्ठ र शेर वहादुर रोकाको अवस्था गम्भिर भएकाले तीनलाई एम्वुलेन्स मार्फत थप उपचारको लागि काठमाण्डौं पठाइएको मन्थली अस्पतालका मे.सु.डा.केशव धामीले जानकारी दिए । उनका अनुसार अन्य घाइतेको अवस्था सामान्य रहेको र सवैको हाल मन्थली अस्पतालमा उपचार भइरहेको डा. धामीले बताए ।

Scroll to Top