गाडीको ठक्करबाट १४ महिने नाबालकको ज्यान गयो

रामेछाप । सदरमुकाम मन्थली बजारवाट करम्वोट तर्फ जाँदै गरेको बागमती प्रदेश ०२–८ च १२७२ नम्बरको बोलेरो गाडीले सडक छेउमा खेलीरहेका १४ महिने नाबालकलाई ठक्कर दिदा उनको उपचारको क्रममा ज्यान गएको छ ।

शनिवार विहान मन्थली नगरपालिका–१ आकाशे स्थित सडकको छेउमा घर भएकाले घरवाट निस्किएर घरकै छेउमा खेल्दै गरेका १४ महिनाका कृजल श्रेष्ठलाई गाडीले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट घाइते भएका ती नाबालकको परिवार र छिमेकीहरुले घटनास्थलवाट तत्काल उद्धार गरी उपचारको लागि मन्थली अस्पतालमा भर्ना गरेका थिए ।

उपचारको लागि भर्ना गरीएका ती नाबालकको मन्थली अस्पतालमा उपचार सम्भन्न नभएपछि तत्काल थप उपचारको लागि काठमाण्डौं लैजान अस्पतालले रेफर गरेको थियो । नाबालकलाई उपचारको लागि लैजाने तयारी गर्दागर्दै सोही अस्पतालमा नै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजन प्रसाद तिम्सिनाले जानकारी दिए ।

पछिल्लो समय सदरमुकाम मन्थलीमा दैनिक जसो सडक दुर्घटना हुने गरेका छन् । ट्राफिक व्यवस्थापन फितलो हुँदा सवारीसाधन चालकको लापर्वाही बढेको छ । केही दिन अघि सदरमुकाम मन्थलीको देवकोटा चोकमा रहेको जेव्राक्रसवाट सडक पार गर्दै गरेका एक विद्यार्थीलाई मोटरसाइकलले ठक्कर दिएर घाइते बनाएको थियो । प्रहरीले सवारीसाधनको चेकजाँचमा ध्यान नदिदा वजार क्षेत्रमा सवारीसाधनको गती तिव्र हुने गरेको छ ।

Scroll to Top