ज्यान मुद्धाका फरार प्रतिवादी ७ वर्षपछि पक्राउ

रामेछाप । अवैद्य शारिरीक सम्वन्धवाट गर्भधारण भएको शिशुलाई जंगलको ओडारमा छोडी ज्यान मारेको सम्वन्धी कसुरमा फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय रामेछापले ७ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको उमाकुण्ड गाउँपालिका–७ पोल्दिम निवासी रामबहादुर सुनुवार रहेका छन् । फरार प्रतिवादी सुनुुवार ज्ञानमाया सुनुवारको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी वर्षा भन्ने विना सुनुवार समेत भएको ज्यान सम्बन्धी कसूर मुद्दामा फरार रहदै आएका थिए ।

घटना विवरण अनुसार विना सुनुवार र रामबहादुर सुनुवारबीचको अवैध शारीरिक सम्बन्धबाट गर्भधारण भएको शिशुलाई २०७६ असार ९ गते राति जन्माएर उमाकुण्ड गाउँपालिका–७ स्थित पोल्दिम जंगलको ओडारमा फालिएको र त्यही शिशुको ज्यान गएको घटनापछि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको थियो ।

उक्त घटनाको बिषयमा प्रहरीले ज्यान सम्वन्धी कसुर मुद्धामा मुद्धा चलाउने गरी जिल्ला सरकारी वकील कार्यालयमा राय पेश गरेको थियो । प्रहरीको रायको आधामा जिल्ला सरकारी वकील कार्यालयले सुनुवारलाई कर्तव्य ज्यान मुद्धामा मुद्धा चलाउन रामेछाप जिल्ला अदालतमा अभियोग पत्र पेश गरेको थियो । प्रहरीको राय र वकील कार्यालयको अभियोग पत्रको आधारमा रामेछाप जिल्ला अदालतले सुनुवारलाई कर्तव्य ज्यान मुद्धामा दोषि ठहर गरेको थियो ।

अदालतले दोषि ठहर गरेका सुनुवार लुुकिछिपी आफ्नै गाउँमा वस्दै आएकोमा प्रहरीले खोजतलास गर्ने क्रममा जेठ २७ गते उनलाई उमाकुण्ड गाउँपालिका–७ स्थित पोल्दिमवाट पक्राउ गरी रामेछाप अदालतमा शुक्रवार पेश गरेको थियो । अदालतले शुक्रवार नै सुनुवारलाई पुर्पक्षमा पठाउने आदेश दिएसँगै सुनुवारलाई कारागार कार्यालय रामेछाप पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी विशाल सिंहले जानकारी दिए ।

Scroll to Top