रामेछाप । नगरपालिका भित्रका सम्पूर्ण बालबालिकाहरुलाई दिनुपर्ने खोप प्रदान गरेको सुनिश्चिता गरेसँगै शनिवार मन्थली नगरपालिकालाई पूर्णखोप युक्त नगरपालिका घोषणा गरिएको छ ।

जन्मेको १५ महिनादेखी ५९ महिनासम्मका सम्पूर्ण बालबालिकाहरुलाई खोप लगाइसकेको अनुगमन देखिएपछि जिल्ला खोप समन्वय समितिका उप–प्रमुख प्रेमवहादुर थापा र जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभुकुमार झाले मन्थली नगरपालिकालाई पूर्णखोपयुक्त नगरपालिकाको प्रमाण–पत्र एक औपचारिक कार्यक्रमका विच प्रदान गरेका हुन् ।
सो कार्यक्रममा पूर्णखोपयुक्त नगरपालिका घोषणापछि पनि बालबालिकाहरुलाई खोप लगाउने अभियान भने निरन्तर रहने अपेक्षा सहभागीहरुले गरेका थिए । सो कार्यक्रममा मन्थली नगरपालिका भित्रका विभिन्न स्वास्थ्य संस्थाहरुवाट स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरु समेत उपस्थित रहेका थिए ।


सोही कार्यक्रममा खोप अभियानमा सहयोग पुर्याउने विभिन्न स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रशंसापत्र प्रदान गरेर सम्मान गरिएको थियो ।




