रामेछाप । तामाकोशी अस्पताल मन्थलीमा भएको दुईदिने निःशुल्क आँखा शिविरमा ६५ जनाले मोतियाविन्दुको शल्यक्रिया गराएका छन् ।

जेठ ३१ र असार १ गते भएको दुई दिने आँखा शिविर तिलगंगा सर्जिकल कम्युनिटी, समुदायिक आँखा केन्द्र रामेछाप र तामाकोशी अस्पतालको सयुक्त आयोजनामा भएको थियो । उक्त शिविरमा वरिष्ठ नेत्ररोग विशेषज्ञ तथा न्युरो–अप्थाल्मोलोजी परामर्शदाता डा.कृपा जोशीको नेतृत्वमा विशेषज्ञ स्वास्थ्यकर्मीको टोलीले आँखाका विरामीहरुको शल्यक्रिया तथा उपचार सेवा प्रदान गरेका थिए ।
उक्त शिविरवाट जिल्लाका ग्रामिण भेगका आर्थिक अवस्था कमजोर भएका विरामीहरुले राहात पाएका छन् । तिलगंगा आँखा अस्पतालले बिगत वर्षहरुदेखी नै रामेछापका दुरदराजका गाउँहरुमा पुगेर निःशुल्क आँखा परीक्षण गर्ने काम गर्दै आएको छ । आँखा जाँचको क्रममा मोतियाविन्दु भएका विरामीहरुको छनौट गरी ती विरामीहरुलाई सदरमुकाम मन्थलीमा रहेको तामाकोशी अस्पताल ल्याएर शल्यक्रिया गर्ने गरेको छ । तिलगंगा आँखा अस्पतालले यस कार्यलाई निरन्तरता दिने जनाएको छ ।





