रामेछाप । आफ्नै घरमा सुतिरहेकी एक एकल महिला माथि मध्यरातमा घरको ढोका तोडी भित्र प्रवेश गरेर जर्वजस्ती करणी गर्न खोज्ने एक पुरुषलाई महिलाले खुकुरी प्रहार गरेर घाइते बनाएकी छिन् ।

खाँडादेवी गाउँपालिका–५ पकरवास घर भएकी परिवर्तित नाम १८(१) भएकी एक एकल महिला लाई सोही गाउँपालिकाका तिलक बहादुर नेपालीले जर्वजस्ती करणीको प्रयास गरेका थिए । महिला एक्लै रहेको थाहा पाएका नेपालीले सोमवार राती २ वजेको समयमा ती महिलाको घरमा पुगी घरको ढोका तोडी भित्र प्रवेश गरेर महिलालाई जर्वजस्ती करणीको प्रयास गरेका थिए ।
अकस्मात ढोका फोडी भित्र प्रवेश गरेर महिला माथि जर्वजस्ती करणी गर्न खोजेपछि ती महिलाले प्रतिकार गर्ने क्रममा खुकुरीले नेपाली माथि प्रहार गर्दा उनको बाँया हातको पाखुरामा चोट लागेपछि करणी गर्न नपाई वारदात स्थानवाट भागी फरार भएका थिए । उक्त घटनापछि ती महिलाले छिमेकीहरुसँग घटनाको बिषयमा जानकारी गराएपछि स्थानियहरुले इलाका प्रहरी कार्यालय चोप्राङ्गमा खबर गरेका थिए ।


घटनापछि फरार रहेका नेपालीलाई खोजतालस गर्न खटिएको प्रहरीको टोलीले बुधवार मन्थली नगरपालिका–१ वाट पक्राउ गरेको छ । नेपालीलाई जर्वजस्ती करणी उद्योग मुद्धामा मुद्धा दर्ता गरी रामेछाप जिल्ला अदालतवाट ७ दिनको म्याद थप गरी निजलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान कार्य अघि वढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतले जानकारी दिए ।




