रामेछाप । किर्ते कागजात तयार गरेर खाँडादेवी गाउँपालिका–७ गाल्वा स्थित सामुदायिक लघुवित्त वित्तीय संस्थामा रहेको ७२ लाख भन्दा बढी रकम हिनामिना गर्ने सो संस्थाका कार्यरत शाखा प्रमुख सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले सामुदायिक लघुवित्त वित्तीय संस्थाका तत्कालीन शाखा प्रमुख रमेशजंग शाह, कनिष्ठ सहायक सरोज राई तथा बचतकर्ता सदस्य सुनिता घिसिङ सहित चार जनालाई आफ्नो नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य अघि वढाएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतले जानकारी दिए ।
उनका अनुसार लघुवित्त संस्थामा राखेको पैसा सोही संस्थामा कार्यरत कर्मचारीहरुले ठगी गरेको भन्दै स्थानिय बेलमाया मगरले २०८० असोज ८ गते बैङ्किङ कसुरसम्बन्धी मुद्दा दर्ता गराएकी थिइन । मुद्धा दर्तापछि प्रहरीले आरोपीतहरु मध्ये एकजनालाई खोटाङ जिल्लावाट र अन्यलाई काठमाण्डांैवाट पक्राउ गरी जिल्लामा झिकाएर सम्वन्धित कार्यालयवाट म्याद थप गरी प्रहरी हिरासतमा राखी आवश्यक थप अनुसन्धान भइरहेको सूचना अधिकारी राउतले बताए ।


संस्थाका कार्यरत कर्मचारीहरु मिलेर २०७५ सालमा संस्थाको कर्जा कार्यविधि विपरीत खाँडादेवी गाउँपालिकाका लमिन लामा लगाएत ४१ जना ऋणी देखाएर किर्ते कागजात तयार गरी नक्कली ऋण कारोबार देखाएर पैसा हिनामिना गरेका थिए । उनीहरुले गैरकानुनी रूपमा संस्थावाट ७२ लाख ३७ हजार ३३५ रुपैयाँ कर्जा प्रवाह गरेको देखाएर संस्थालाई आर्थिक हानि–नोक्सानी पु¥याएका छन् । रामेछापमा वित्तिय संस्था ठगी सम्वन्धि यो पहिलो मुद्धा भएको प्रहरीले जनाएको छ ।




