सर्बर नचलेपछि राजश्व सेवा प्रभावित, रामेछापका सेवाग्राही मारमा

रामेछाप । नयाँ आर्थिक वर्ष शुरु भएयता साउनको दोश्रो हप्ता वितिसक्दा पनि राजश्व बुझ्ने सरकारी कार्यालयका सर्वर नचल्दा सेवा प्रभावित हुँदा राजश्व बुझाउन आउने सेवाग्राहीहरु मारमा परेका छन् ।

सरकारको कर संकलन गर्ने आन्तरिक राजश्व विभागको करदाता राजश्व पोर्टल नचल्दा रामेछापका सेवाग्राहीहरुले हैरानी खेप्नु परेको हो । सरकारलाई बुझाउनुपर्ने कर समयमा नै वुझाउन आतुर रहेका रामेछापका करदाताहरु कर बुझाउन पटक–पटक कार्यालयमा आउने गरेको भएता पनि सर्वर नचल्दा आउने सेवाग्राहीहरुलाई त्यतीकै फर्काउनु परेको रामेछाप उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत नविन केसीले जानकारी दिए ।

उनले भने– आर्थिक वर्ष सकिएर नयाँ आर्थिक वर्ष लागेसँगै करदाताहरुले आफ्नो व्यवसायको आयकर, अन्त शुल्क कर तथा अग्रिम कर लगाएत अन्य करहरु वुझाउन कार्यालयमा आउने भएता पनि आन्तरिक राजश्व विभागको सर्वर नचल्दा करदाताहरु त्यतिकै फर्काउनु परेको छ । सरकारलाई तिर्नुपर्ने कर समयमा नै तिरेर जरिवाना वाट वच्न चाहने करदाताहरु बढी मारमा परेका अधिकृत केसीले बताए ।

सरकारी सर्वर नचलेर सेवाग्राही तथा व्यवसायीहरु मारमा परेको भन्दै बिहिवार रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाशकुमार श्रेष्ठको नेतृत्वमा गएको व्यवसायीहरुको टोलीले रामेछापका प्रमुख जिल्ला अधिकारी विनु वज्राचार्य (कुँवर) लाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन् । उनीहरुले सर्वर नचल्दा सेवा लिन आएका सर्वसाधारण र व्यवसायीहरु फर्काउनु परेको भन्दै करदाता राजश्व पोर्टल नियमित र प्रभावकारी ढंगले संञ्चालन हुनुपर्ने माग राखी रामेछापका प्रमुख जिल्ला अधिकारी मार्फत अर्थमन्त्रीलाई ध्यानकर्षण पत्र बुझाएका हुन् ।

उद्योगी र व्यवसायीहरुले बुझाएको ध्यानकर्षण पत्रमा करदाता पोर्टल नियमित संचालन हुनुपर्ने, राजश्व भुक्तानी सगैं करचुक्ता प्रमाण पत्र पाउने व्यवस्था हुनुपर्ने, अन्तशूल्क राजश्व बुझाएकै दिन नविकरण प्रमाण पत्रमा दस्तखत गरिनुपर्ने माग रहेका छन् । त्यसैगरी ईटिडिएसको भेरिफाई राजश्व बुझाएकै दिन हुनुपर्ने, आयकर छुटका लागि जिल्लामानै निवेदन गर्न सकिने व्यवस्था हुनुपर्ने र मूल्यअभिवृद्धि कर समायोजन जिल्ला तहबाटै गरिनुपर्ने लगाएतका माग रहेका छन् ।

Scroll to Top