रसुवाको बाढीमा परि रामेछापका ४४ जना अझै सम्पर्कबिहीन

रामेछाप । गत बुधवार रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्र्पकबिहीन भएका रामेछापका ७९ मध्ये ३५ जना सम्र्पकमा आएका छन् भने अझै ४४ जना सम्पर्कबिहीन रहेका छन् ।

सम्पर्कबिहीन भएका अधिकासं नागरिकहरु रसुवाको टिमुरे लगाएत बाढी प्रभावित क्षेत्रवाट हराएको सूचना आफन्तहरुले प्रहरीमा टिपाएका छन् । सो क्षेत्रको बाटो हुँदै कतिपय नागरिकहरु गोसाकुण्डतर्फ तिर्थ यात्रा गर्न गएका थिए । कोही त्यस क्षेत्रमा रहेका हाइड्रोपावर कम्पनीमा कार्यरत कर्मचारीहरु रहेका छन् भने केही उक्त क्षेत्रमा व्यापारव्यवसाय गर्दै आएका व्यवसायीहरु समेत रहेका छन् ।

यसवाहेक सम्पर्कबिहीन हुनेहरुमा केही गाडी चालकहरु समेत रहेका छन् । सम्पर्कबिहीनरहेका व्यक्तिका परिवारका सदस्यहरुले रसुवामा आएको बाढीपछि परिवारबाट सम्पर्कमा नआएको भन्दै खोजी गरिदिन प्रहरीमा आफन्तहरुले अनुरोध गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतले जानकारी दिए ।

बाढी आउनु केही समयअघिसम्म टेलिफोन सम्पर्कमा रहेका आफन्तहरुले रसुवाको टिमुरे क्षेत्र आसपास रहेको र घर फर्कन लागेको भन्दै परिवारमा टेलिफोन मार्फत जानकारी गराएका थिए । पछि सो क्षेत्रमा बाढी आएपछि सवैसँग सम्पर्कबिहीन हुन पुगेको परिवारका सदस्यहरुले प्रहरीलाई जानकारी गराएका छन् । उक्त घटनापछि प्रहरीले हराएका व्यक्तिहरुको खोजी कार्य भइरहेको र हालसम्म पनि अन्य थप कुनै व्यक्ति सम्पर्कमा नआएको अधिकारी राउतले बताए ।

Scroll to Top