चोरीको सुन खरिद गरेको अभियोगमा लाम्गादे पक्राउ

रामेछाप । चोरीको सुन खरिद गरेको अभियोगमा सदरमुकाम मन्थली स्थित देवकोटा चोकको नवदुर्गा सुनचाँदी उद्योगका प्रोपाइटर कृष्ण लाम्गादे (तुल बहादुर विश्वकर्मा) पक्राउ परेका छन् ।

स्थायी घर चितवन भएका लाम्गादे करिव १७ वर्षदेखी रामेछापको सदरमुकाम मन्थलीमा सुनचाँदी व्यवसाय सञ्चालन गर्दै आएका छन् । उनी हाल नेपाल सुनचाँदी कला व्यवसायी संघ रामेछापका कार्यवाहक अध्यक्ष समेत रहेका छन् । उनले दोलखाको जिरी नगरपालिकाका दुई महिलाको लुटिएको सुन खरिद गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय दोलखाले बिहिवार साँझ पक्राउ गरेर दोलखा जिल्ला अदालतवाट चार दिनको म्याद थप गरि प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक किरण लोप्चनले जानकारी दिए ।

करिव एक महिना अघि जिरीका नगरपालिका–३ र ६ का गरि दुई महिलाले लगाएको करिव डेढ तोला सुन लुटिएको थियो । उक्त सुन रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेकी मैया कार्कीले लुटेकी थिइन । कार्कीले जिरीमा लुटेको दुई जनाकै सुन मन्थलीमा रहेको नवदुर्गा सुनचाँदी पसलमा ल्याएर विक्री गरेकी थिइन ।

लाम्गादे पक्राउ परेसँगै मन्थलीमा चोरीका सुनका गहना खरिद गर्ने चार व्यवसायी पक्राउ परेका छन् । यसअघि नै मन्थलीका तीनवटा सुनचाँदी व्यवसायीलाई रामेछाप प्रहरीले पक्राउ गरि चोरीको सुन खरिद गरेको अभियोगमा मुद्धा चलाएको छ । पछिल्लो समय रामेछापमा एकपछि अर्को गरि चोरीको सुन खरिद गरेको अभियोगमा व्यवसायीहरु प्रहरी खोरमा पुगेसँगै रामेछापका नागरिकहरु सुन खरिद गर्न र विक्री गर्न हच्किएका छन् ।

Scroll to Top