रामेछाप । दशैंको लागि घर छेप्न कमेरो माटो लिन गएका एक युवक माटोको ढिस्कोले पुरिदा उनको घटनास्थलमा नै ज्यान गएको छ ।

ढिस्कोले पुरिएर ज्यान जानेमा लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षिय सोमवहादुर महत रहेका छन् । उनी दशैको लागि घर छेप्न कमेरो माटो लिन भनी सोमवार दिउँसो घरवाट निस्कीएका थिए । सोमवार रातीसम्म पनि उनी घर नफर्किएपछि आज विहान उनको खोजीको लागि परिवारका सदस्यहरु उनको खोजीको लागि निस्एिका थिए ।
उनको खोजतलासको क्रममा माटो खन्दै गरेको स्थानमा खोजी गर्ने क्रममा घरवाट करिव डेढ किलोमिटर टाढा उत्तरतर्फ ढिस्कोले पुरिएको अवस्थामा महतको शव फेला परेको हो । घटनापछि परिवारका सदस्यहरुले इलाका प्रहरी कार्यालय धोवीडाँडामा खवर गरेका थिए । घटनाको सम्वन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतले जानकारी दिए ।





