रामेछाप नगरपालिका–१ का अध्यक्ष खत्रीले दिए पदबाट राजिनामा

रामेछाप । पदावधि सकिन करिव ६ महिना बाँकी रहेको बेला रामेछाप नगरपालिका–१ गोठगाउँका वडा अध्यक्ष रेख बहादुर खत्रीले आजैको मितिदेखी लागु हुने गरि आफ्नो पदवाट राजीनामा दिएका छन् ।

उनले नगर प्रमुखलाई संवोधन गरेर नगरपालिकामा बुधबार राजीनामा बुझाएका हुन् । खत्रीले पछिल्लो समय नगरपालिकाको समग्र कार्यशैली, निर्णय प्रकृया र वडालाई हेर्ने व्यवहारका कारण निर्वाचित जनप्रतिनिधिको रुपमा प्रभावकारी ढंगले काम गर्ने वातावरण असहज बन्दै गएको महशुस गरि आफ्नो पदवाट राजिनामा दिएका हुन् ।

वडाको आवश्यकता, जनताको माग र स्थानीय समस्यालाई प्राथमिकतामा राखी अघी बढ्नुपर्ने अवस्थामा कतिपय विषयमा अल्पमत र बहुमतको अधारमा व्यवहार हुने र गोठगाउँका जायज माग तथा आवश्यकताहरुलाई अपेक्षित प्राथमिकता नदिने र विकास तथा जनसरोकारका विषयमा समेत समान दृष्टिकोण हुन नसकेको अवस्था देखिएका कारण आफुले पदवाट राजिनामा दिएको उल्लेख गरेका छन् ।

उनले आफ्नो कार्यकालमा जनतासमक्ष गरिएका कतिपय प्रतितवद्धतता तथा अपेक्षा अनुसारका कामहरु कार्यान्वयन गर्न नसकेको वडाबासीको अपेक्षा पुरा गर्न निर्वाचित वडा अध्यक्षका रुपमा मैले थप कठिनाई भोग्नु परेको उल्लेख गर्दै जनताको उचित माग र वडाको हित भन्दा व्यक्तिगत असहमति पूर्वाग्रह वा आन्तरिक मतभेदले प्राथमिकता पाएको अनुभूति हुने गरी निर्णय तथा व्यवहार हुनु लोकतान्त्रिक स्थानीय शासनको मर्म अनुकुल नभएको भन्दै राजिनामा पत्रमा लेखेका छन् ।

उनले आफुले बुझाएको राजीनामामा व्यक्ति विशेषप्रति आरोप लगाउने वा व्यक्तिगत असुन्तुष्टि व्यक्ति गर्ने उद्धेश्यले राजीनामा प्रश्तुत नगरिएको तर जनताको पक्षमा प्रभावकारी रुपमा काम गर्न आवश्यक वातावरण, सहकार्य, समान व्यवहार र संस्थागत समन्वय कायम हुन नसकेको अवस्थामा पदमा निरन्तर रहीरहनु स्वयं वडाबासी प्रतिको जिम्मेवारीसंँग न्याय नहुने निष्कर्षमा पुगेको कुरा समेत उल्लेख गरेका छन् ।

नौ वटा वडा कार्यालय हेको रामेछाप नगरपालिकामा नगर प्रमुख, उप–प्रमुख सहित ७ वटा वडा नेपाली काँग्रेसका उम्मेदवारहरुले निर्वाचन जितेका थिए । केही समय अघिदेखी वडा अध्यक्ष खत्री र नगर प्रमुख लवश्री न्यौपाने विच वजेटकै बिषयमा मनमोटाव हुँदै आएको थियो ।

Scroll to Top