रामेछाप । गतवर्षको असोजमा सुनकोशी नदीमा आएको बाढीले सुनकोशी नदीको पुल बगाएपछि ठप्प भएको यातायात सेवा हाल उक्त स्थानमा बेलिब्रीज निमार्ण भएपछि यातायातका साधन चल्न थालेका छन् ।

सिन्धुली र रामेछापको सिमाना भएर बहने सुनकोशी नदीले खैरेनीघाटमा रहेको मोटरेवल पुल वाढीले बगाएपछि रामेछाप तर्फका पश्चिमी भेगका नागरिकहरुको विपी राजमार्गसँग सिधा कनेक्सन टुटेको थियो । खैरेनीघाटको पुल नभएपछि वैकल्पीक रुपमा रामेछापका नागरिकहरु काभ्रे र रामेछाप जोड्ने सिन्धुरेटारको पुल तरेर राजधानी जानुपर्ने वाध्यता रहेको थियो भने केही नागरिकहरु खाँडादेवी गाउँपालिकाको भिरपानी स्थित सित्खा पुल तरेर जान वाध्य थिए ।
सडक विभागले बाढीले बगाएको स्थानमा १७ महिनापछि वेलीब्रिज जडान गरिदिएपछि मगंलवारवाट सवै यातायातका साधनहरु सहज रुपले संचालनमा आएका खाँडादेवी गाउँपालिका–५ का सुकराम घिसिङले जानकारी दिए । उनले भने– नदीमा भएको पुल बाढीले वगाएपछि रामेछापका धेरै नागरिकहरुलाई समस्या थियो । पुल बगाएपछि विपी राजमार्ग जान घुमारो बाटो प्रयोग गर्नुपर्ने वाध्यता थियो भने केही नागरिकहरु काभ्रे निस्किएर राजधानी जानवाध्य थिए । अहिले उक्त पुल निमार्ण भएर संञ्चालनमा आएपछि धेरै सहज भएको घिसिङले बताए ।


पुल संचालनमा आएपछि पश्चिमी रामेछापका नागरिकहरुलाई धेरै ठूलो राहत मिलेको छ । उक्त पुल हुँदै सहजै सिन्धुलीको विपी राजमार्ग निस्केर राजधानी जान सहज हुने भएपछि पश्चिमी रामेछापका खाँडादेवी गाउँपालिका, दोरम्वा शैलुङ्ग गाउँपालिका र सुनापति गाउँपालिकाका गरी तीनवटा गाउँपालिकाका नागरिकहरु सोही पुल प्रयोग गर्ने गर्दछन् ।




