हिरासतबाट फरार अभियुक्त रामेछापमा जबरजस्ती करणी अभियोगमा पक्राउ

रामेछाप । जबरजस्ती करणी उद्योगको अभियोगमा रामेछापमा पक्राउ परेका २१ वर्षीय युवक सुनसरीको प्रहरी हिरासतबाट फरार भएका थुनुवा बन्दी भएको खुलेको छ ।

चोरी मुद्दाको अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय पकली, सुनसरीको हिरासतमा रहेका प्रेम बिसुंके जेलमुक्त हुन आन्दोलनको सहारा लिँदै भदौ २४ गते फरार भएका थिए । सुनसरीबाट भागेर रामेछाप आएका बिसुंकेले त्यहाँ लुकिछिपी बस्दै लिखु बृहत् खानेपानी आयोजनामा मजदुरका रूपमा काम गरिरहेका थिए । यसै क्रममा उनले गत भदौ २ गते रामेछाप नगरपालिका–४ तिलबारीका एक ६१ वर्षीया एकल महिलालाई उनकै घरमा गएर जबरजस्ती करणी गरेका थिए ।

घटना घटेको भोलिपल्टै अर्थात् भदौ ३ गते प्रहरीले खोजतलास गर्ने क्रममा उनलाई तिलबारीकै एउटा मान्छे नबस्ने पुरानो घरमा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतका अनुसार हाल उनीमाथि जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ । रामेछापमा कानुनी प्रक्रिया र अनुसन्धान सकिएपछि उनलाई पुनः चोरी मुद्दाको कारबाहीका लागि सुनसरी पठाइने प्रहरीले जनाएको छ ।

Scroll to Top