रामेछाप । भोली असोज ९ गतेदेखी ११ गतेसम्म बागमती प्रदेश सहित देशका अधिकासं स्थानमा भारीदेखी अति भारी वर्षा हुने भएकाले नदी तटीय क्षेत्रमा बसोवास गर्ने नागरिकहरुलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय रामेछापले आग्रह गरेको छ ।

मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाअनुसार आगामी असोज ९ गतेदेखि ११ गतेसम्म भारी भन्दा अति भारी वर्षा हुने जनाएको छ । सोही सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय रामेछापले एक सूचना प्रकाशन गरि नदी, खोला किनारमा बसोवास गर्ने नागरिकहरुलाई वर्षाको बेला सावधानी अपनाउन आग्रह गरेको हो ।
भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने तथा पहिरो जानेसम्मका विपद्का घटना हुनसक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सम्भव भएसम्म सुरक्षित स्थानमा रहन र अनावश्यक रुपमा लामो दुरीको यात्रामा ननिस्कन समेत प्रशासनले आग्रह गरेको छ ।





