
रामेछाप । यहीँ कार्तिक १७ गते जाजरकोट केन्द्र बिन्दु भएर गएको भुकम्पका घरबार विहिन भएका नागरिकहरुको लागि मन्थली नगरपालिकाले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

मन्थली नगरपालिकाले ३ लाख रुपैयाँ केन्द्रिय दैवी प्रकोप उद्धार समितिको कोषमा र २ लाख रुपैयाँ जाजरकोट जिल्ला प्रकोप उद्धार कोषमा पठाएको मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले जानकारी दिए । उनले भने– भुकम्पमा परी धेरै धनजनको क्षती भएको र हजारौको संख्यामा नागरिकहरु खुल्ला आकाशमुनी त्रिपालको सहारामा बस्दै आएकाले ती नागरिकहरुलाई थोरै भएपनि राहात होस् भन्ने हेतुले मन्थली नगरपालिकाले रकम सहयोग गरेको बताए ।

कार्तिक १७ गते राती ११ः४७ मा गएको भुकम्पमा परी जाजरकोट र पश्चिम रुकुममा १ सय ५७ जनाको ज्यान गुमाएका छन् । जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकाको रामिडाँडा केन्द्र बिन्दु बनाएर गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमका धेरै नागरिकहरुले ज्यान गुमाउनु परेको हो भने हजारौं नागरिकहरु घरवार विहिन हुन पुगेका छन् ।