रामेछाप । श्रीमान् जीवितै हुँदा पनि श्रीमान्को निधन भएको भनी महिलालाई एकल बनाई सामाजिक सुरक्षा भत्ता दिएको आरोपमा मन्थली नगरपालिका–३ का तत्कालिन वडा सचिव शिवकुमार महतो सहित दुईजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा दर्ता गरेको छ ।
जिवीतै रहेका श्रीमान्को मृत्यु भएको भनी मृत्यु दर्ताको प्रमाण पत्र बनाएर एकल महिला सामाजिक सुरक्षा भत्ता लिदै आएकी निर्मला खत्री र वडा सचिव महतो बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार गरेको आरोपमा उजुरी परेपछि अख्तियारले छानविन गरेको थियो । छाननविनको क्रममा वडा सचिव महतोले मृत्यु दर्ताको प्रमाणपत्र बनाइदिएको र खत्रीले सामाजिक सुरक्षा भत्ता लिएको प्रमाण फेला पारेपछि उनीहरु विरुद्ध अख्तियारले मुद्धा दर्ता गरेको हो ।
एकल महिलाको नाममा खत्रीले ४५ हजार २२० रुपैयाँ सामाजिक सुरक्षा भत्ता वापतको रकम लिएको देखिएको छ । अख्तियारले सोही रकमलाई विगो ठहर गरी भ्रष्टाचार मुद्धा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
यसअघि लामो समय मन्थली नगरपालिका–३ कठजोरको वडा सचिवको जिम्मेवारीमा रहेका महतो हाल मन्थली नगरपालिका–१२ गेलुमा वडा सचिवको रुपमा कार्यरत रहेका छन् ।