रामेछाप । सरकारी सम्पती कसरी हात पार्न सकिन्छ भन्दै त्यसको पछि लागेका नागरिकलाई रामेछापको सुनापति गाउँपालिका–३ हिलेदेवीका ८६ बर्षिय भिमवहादुर मानन्धरले सबल सिकाएर जिल्लाकै एक उदाहरण पात्र बनेका छन् ।
सरकारी रकम लिन मरिहत्ते गर्नेहरुलाई जेष्ठ नागरिक मानन्धरले सरकारले दिएको सामाजिक सुरक्षा भत्ता (जेष्ठ नागरिक भत्ता) समेत नलिई उदाहरणका पात्र बनेका हुन् । आफ्नो परिवारलाई आफैले कमाएको सम्पतीले खान र लाउन पुग्ने भएकाले सरकारकै हात थापि रहनु नपर्ने भन्दै जेष्ठ नागरिक मानन्धरले गाउँपालिकाले दिएको सामाजिक सुरक्षा भत्ता पनि नलिने घोषणा गरेका हुन् ।
गाउँपालिकाले मानन्धरलाई सामाजिक सुरक्षा भत्ता रकम प्रदान गरेको थियो । तर मानन्धरले आफु सक्षम भएकाले राज्यको पैसा आफुलाई नचाहिने भन्दै गाउँपालिकामा नै फर्काएका हुन् । यसरी पालिकाले दिएको सामाजिक सुरक्षा वापतको रकम फिर्ता गर्ने मानन्धरलाई सुनापति गाउँपालिकाले उनकै घरमा पुगेर दोसल्ला र सम्मान पत्र प्रदान गरेर सम्मान गरेको छ ।
मानन्धरलाई सम्मान गर्न सुनापति गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङ्ग, उपाध्यक्ष गीता बिष्ट (चौलागाई), गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिलकृष्ण श्रेष्ठ र वडा अध्यक्ष कुल वहादुर तामाङ सम्मानपत्र सहित आज उनकै घरमा पुगेका थिए । जेष्ठ नागरिकलाई राज्यले दिएको सुविधा दिदा समेत आफुलाई आफ्नै सम्पतीले खान लगाउन पुग्छ भन्दै रकम फिर्ता गर्ने एक इमान्दार व्यक्ति देखेर उहाँलाई गाउँपालिकाले उहाँको दिर्घजीवनको कामना गरेर सम्मान गरिएको सुनापति गाउँपालिकाकी उपाध्यक्ष गिता बिष्टले जानकारी दिइन ।
उनले भनिन्– हाम्रो पालिकामा जेष्ठ नागरिकहरु पनि इमान्दार र बफादार हुनुहुदोरहेछ भन्ने उदाहरण मानन्धर बाले दिनु भएको छ । यसअघि मानन्धरले २०७२ सालको विनासकारी भुकम्पले घर पूर्णरुपमा क्षती हुँदा पनि सरकारले घर पुनर्निमार्णको लागि दिएको रकम समेत लिनु भएन । बरु उल्टै क्षती भएको घर उहाँले आफ्नै खर्चमा आफैले निमार्ण गरेर समाजमा एक उदाहरणको पात्र बन्नु भएको उपाध्यक्ष बिष्टले बताइन ।
अहिले सुनापति गाउँपालिकामा जेष्ठ नागरिक सुरक्षा भत्ता रकम लिने करिव १ हजार ७ सयको हाराहारीमा रहेका छन् । पालिकाको अन्य केही वडामा जेष्ठ नागरिकहरुले समेत सरकारी रकम नलिने भन्ने सूचना पालिकामा पठाएकाले त्यस बिषयमा बुझ्न गाउँपालिकाले केही दिनमा ती वडाहरुमा पनि कर्मचारी पठाउने तयारी गरेको सुनापति गाउँपालिकाले जनाएको छ ।