रामेछाप रेडक्रसले तीन गाउँपालिकालाई निःशुल्क रगत दिने

रामेछाप । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले जिल्लाका तीन गाउँपालिकाका नागरिकलाई निःशुल्क रुपमा रगत उपलव्ध गराउने भएको छ ।

जिल्लाको उमाकुण्ड गाउँपालिका, खाँडादेवी गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाका नागरिकलाई विरामी परेको बखत निःशुल्क रुपमा रगत उपलव्ध गराउने गरी बुधवार सम्वन्धित गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी रामेछाप जिल्ला शाखा बिच सम्झौता भएको हो । रेडक्रसले अन्य जिल्ला शाखा र केन्द्रिय रक्तसञ्चार सेवा बीच पनि सम्झौता गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयमा भएको आन्तरिक सम्झौता पत्रमा नेपाल रेडक्रस सोसाइटी केन्द्रका तर्फवाट महामन्त्री भूपतिलाल श्रेष्ठ र नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाको तर्फवाट मन्त्री दुर्गावहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन् । पत्रमा हस्ताक्षर गर्दै केन्द्रिय महामन्त्री श्रेष्ठले बिरामीलाई निःशुल्क रुपमा रगत उपलव्ध गराउन रामेछाप रेडक्रसले गरेको पहलको खुलेर प्रशंसा गरेका थिए ।

यसैगरी रामेछाप रेडक्रसका मन्त्री दुर्गा श्रेष्ठले रामेछापमा सवै स्थानिय तहमा निःशुल्क रुपमा रक्त सेवा प्रदान गर्दै जाने योजना आफुहरुले अघि सारेकाले सोही योजना अनुसार काम गर्दै जाने बताए । उक्त सम्झौता कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकाल, नेरेसो रामछाप जिल्ला शाखाका प्रतिनिधि शम्भुकुमार बुढाथोकी, रक्तसञ्चार सेवा केन्द्रका निर्देशक दिव्यराज पौडल र उपनिर्देशक डा. प्रकाशकुमार यादव समेतको उपस्थिती रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाले विभिन्न अस्पतालमा उपचाररत विरामीहरुलाई रगत अभाव हुँदा ती सवै बिरामीलाई पुग्ने रगत उपलव्ध गराउँदै आएको छ ।

Scroll to Top