रामेछाप । रामेछाप अस्पतालमा नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौँ वरिष्ठ हाड जोर्नी विशेषज्ञहरूबाट संचालित तीनदिने शिविरमा ४० जनाको निःशुल्क शल्यक्रिया गरिएको छ ।
उक्त शिविरमा ४ सय २० जनाले सेवा लिएका छन् । यही भदौ १३, १४ र १५ गते सञ्चालन भएको शिविरमा ४० जना विरामीको शल्यक्रिया गरिएको हो । जिल्लामै पहिलो पटक यति धेरै शल्यक्रिया सहितको ठुलो शिविर सञ्चालन भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.केशव श्रेष्ठले जानकारी दिए ।
तीनदिनसम्म संचालन भएको उक्त शिविरमा नेपाल अर्थोपेडिक अस्पतालका वरिष्ठ अर्थोपेडिक डाक्टर युवराज खरेल नेतृत्वको १६ जनाको टिमले सेवा प्रदान गरेका थिए । शिविरमा घुँडा खिइएका ८० जनाको सुई (स्टेरोइड) लगाइएको थियो ।
यसैगरी शिविरमा खुट्टाको पैतला फर्किएको,जन्मजात हात खुट्टा बाङ्गिएका,हात वा खुट्टाका विकृतिजन्य समस्याहरू,हात वा खुट्टा भाँचिएको,हात वा खुट्टा बाङ्गिएर जोडिएको,भाँचिएको पाता वा खुट्टा भाँचिएको वा किला राखिएको,हातमा आगोले पोलेको,हात खुट्टामा भएको गाँठा गुँठीहरु निकाल्ने लगायतको सेवाहरू पनि शिविरमा उपलव्ध गराइएको रामेछाप अस्पतालले जनाएको छ ।
रामेछाप अस्पतालले महिनामा १ पटक पेट तथा कलेजो रोग विशेषज्ञ सेवा, मानसिक तथा नशा रोग विशेषज्ञ सेवा,नाक,कान,घाँटी,हाडजोर्नी विशेषज्ञ सेवा र मुटु रोग विशेषज्ञ लगायत विभिन्न सेवाहरू थप गरी नागरिकहरुलाई स्वास्थ्य सेवा पुर्याउने गरी काम अघि वढाइएको पनि डा.श्रेष्ठले जानकारी दिए । शिविरमा रामेछाप,दोलखा,सिन्धुली लगायत विभिन्न जिल्लाका बिरामीहरूले सेवा लिएका थिए ।