रामेछापमा परम्परागत काठको ठेकी लोप हुँदै

रामेछाप । पछिल्लो समय रामेछापमा परम्परागत रुपमा प्रयोग गरिदै आएका काठबाट बनेका ठेकी, पाथी र माना लगाएतका वस्तुहरु लोप हुने अवस्थामा पुगेको छ ।

परम्परागत रुपमा काठवाट निर्मित कलात्मक तरीकाले कुदिएका काठका दुध दुहुने ढुग्रो, दहि जमाउने ठेकी र अन्न भर्ने पाथी र माना साथै घ्यु जमाउने हर्पे जस्ता वस्तुहरु उत्पादन भएर त्यतिकै मात्रामा गाउँमा विक्री हुने गरेको थियो । अहिले गाउँमा ती वस्तुहरु लोप हुने अवस्थामा पुगेका छन् ।

पहिला प्लाष्टिक, सिलाभर र स्टीलबाट बनेका भाँडाहरु भेट्न मुस्किल पर्ने गर्दथ्यो । यसको सट्टामा गाउँकै सामुदायिक वन र व्यक्तिको वारीको कान्लामा हुने ठूलो रुखकटहर र दारका काठवाट ठेकीहरु निमार्ण हुने गर्दथ्यो । उत्पादित ठेकी, माना, पाथी राम्रो मूल्यमा विक्री हुन्थ्यो । तर अहिले गाउँमा काठको अभाव एकातिर छ । अर्कोतीर बनाएको काठका भाँडाहरु समेत बिक्री हुन छाडेपछि यस पेशामा लाग्ने व्यक्तिहरुको समेत पलाएन हुने अवस्था आएको मन्थली नगरपालिका वडा नं–१३ का ठेकी व्यवसायी धनवहादुर विश्वकर्माले जानकारी दिए ।

उनले भने– पहिला प्लाष्टिक र स्टीलका भाडाहरु नआउँदा काठको ठेकी खोज्ने व्यक्तिहरु धेरै आउने गर्दथे । तर अहिले गाउँगाउँमा मोटरवाटो बन्यो । यातायातका साधनहरु गाउँगाउँ सम्म पुगे । चाहिने सामान गाउँमै पाइने भयो । त्यसले गर्दा हाम्रो व्यापार घट्दै गयो । अहिले व्यापार ठप्प जस्तै छ । पहिला पुरै समय ठेकी, माना, पाथी बनाउन व्यस्त हुने ठेकी व्यवसायीहरु अहिले यो पेशा छाडेर अन्य पेशा तर्फ लागेको विश्वकर्माले बताए ।

काठवाट वनेका जस्तो ठेकी अन्य वजारमा खरिद गरेका आल्मुनियमका भाँडाहरु नहुने र त्यसमा जमाएको दुधवाट वनेका सामाग्रीहरु पनि मानव स्वास्थ्यको लागि गुणकारी नहुने मन्थली नगरपालिका वडा नं–१३ का उपभोक्ता सुमन चौहानले बताए । उनले भने– पहिला काठबाट बनेको ठेकीमा दुध जमाउँदा राम्रो दही बन्ने गर्दथ्यो । काठको ठेकीमा पारेको मोही अत्यन्तै मिठो र स्वादिलो हुने गर्दथ्यो । अहिले बजारमा जताततै प्लाष्टिक, स्टील र सिलाभरका सामानहरु निस्कीए । यी भाडामा राखेको दुध बिग्रने उग्गल आउने हुँदा काठकै भाडा राम्रो हुने जानकारी दिए ।

अहिले सामुदायिक वनमा काठ काट्न पाइदैन । अर्कातिर व्यक्तिको घर कान्लाका रुखहरु पनि मासिदै गए । पहिला पहिला काठवाट वनेका ठेकीहरुको माग अत्याधिक हुने गर्दथ्यो । अहिले गाउँघरमा भैसी गाई पाल्न नै छाडे । कसैले पाली हाले भने पनि दुध सिधै डेरीमा विक्री गर्न थाले त्यसकारण यो पुस्तौ देखी गर्दै आएको पेशा लोप हुन लागेको हो ।

पहिला ठेकी पुरयाउँन नै गाह्रो हुने गर्दथ्यो । अहिले बनेका ठेकी समेत विक्री नभएर घरमा थन्काउन वाध्य हुनु परेको गुनासो ठेकी व्यवसायीहरुको रहेको छ । दारको काठ बनेको ठेकीको प्रति मानाको २ सय ५० रुपैयाँको दरले विक्री हुने गरेको छ । त्यस्तै कटहरको काठवाट बनेको एउटा ठेकीको प्रति माना १ सय ५० रुपैयाँमा बिक्री हुने गरेको थियो । अहिले बनाएका सवै काठका ठेकीहरु ब्यवसायीहरुले घरमा थुपारेर राखेका छन् ।

Scroll to Top