बिचार : पर्यटक आगमन र अर्थतन्त्र

-अरुणा के.सी.
यो बर्ष २०२४ मा ८ महिनामा ७ लाख टुरिस्ट नेपाल आयो भनेर ठुलै उपलब्धि भए सरह समाचार बनेको रहेछ । त्यति टुरिस्ट त दुबई जस्तो एउटा सानो ठाउँमा १५ दिनमै आउँछ । त्यो एउटा सहरमा वर्षको १ करोड ७२ लाख टुरिस्ट आउँछन्। हाम्रो यत्रो देश (दुबई को दाजोमा लगभग ३६ गुणा ठुलो देश), बुद्ध, सगरमाथा, सीता अनि पशुपतिको देश अनि सौन्दर्यले भरिएको प्राकृतिक ल्यान्डस्केप सम्पूर्ण हुँदा–हुँदै जम्मा ८ महिनामा ७ लाख टुरिस्ट, त्यस मध्ये ४ लाख त भारतीय नै होलान् । यस्तो दयनिय स्थितिलाइ उपलब्धि मानेर समाचार बन्नु बिडम्बनापूर्ण छ । नेपालको सरकारी नीति पर्यटकहरूका लागि अनुकूल छैन ।

सरकारी नीतिमा कतिपय टुरिजमको लागि नभई नहुने नीतिहरु प्राथमिकतामा परेको छैन । नेपालमा पर्यटन पूर्वाधारको कमी छ, जस्तै राम्रो सडक, सार्वजनिक यातायात, र पर्यटक स्थलहरूमा आधारभूत सुविधाको अभाव । नेपालको भिसा प्रक्रिया धेरै जटिल र असंगत छ । धेरै पर्यटकहरूले लामो प्रतीक्षा समय, अस्पष्ट निर्देशिका, वा महँगो शुल्कको समस्या सामना गर्छन्, जसले गर्दा अनुभव कम पर्यटक–मैत्री हुन्छ । दिगो पर्यटन वृद्धिलाई समर्थन गर्ने नीतिको अभाव छ । पर्यटन सेवा प्रदायकहरू, टुर अपरेटरहरू, र होटल, रेस्टुरेन्ट, तथा अन्य पर्यटन सुविधाहरूको स्तरको लागि पर्याप्त नियमहरू छैनन् । प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदा हुँदाहुँदै पनि सरकारले नेपाललाई पर्यटकीय गन्तव्यको रूपमा विश्वव्यापी रूपमा प्रवर्द्धन गर्न पर्याप्त लगानी गरेको छैन । प्रभावकारी मार्केटिङ रणनीति र प्रचारात्मक अभियानको अभाव छ जसले अन्तर्राष्ट्रिय पर्यटकहरूलाई आकर्षित गर्न सक्छ।त्यसबाहेक हाम्रा राजनीतिक भागबन्डामा नियुक्ति पाएका राजदूतहरुले नेपाल के हो र नेपाल किन घुम्न जाने भनेर विदेशीलाई बुझौन सकेका छैनन् ।

तिनीहरुमा न त पर्यटकीय मार्केटिंगको ज्ञान छ न त नेपाललाइ प्रोमोट गर्ने जाँगर नै छ। बस हाम्रा निकम्मा राजदूतहरुले “महामहिम” को टाइटल पाएको छ, समाजमा एम्बेसेडर बनेको धाक लगाउन पाएको छ, तलब भत्ता पचाउन पाएको छ, त्यति भए तिनीहरुलाई देशको मार्केटिंग र प्रमोसन संग के सरोकार ? पर्यटक सुरक्षा उपायहरूको कमीको कारणले नेपालले आलोचना खेपेको छ । पर्यटकहरूलाई लक्षित गरेर गरिने साना चोरी, दुर्व्यवहारजस्ता समस्याहरू सामान्य छन् । सडकमा धेरै जसो टुरिस्टलाइ सेवा दिने नाममा टुरिस्ट लुट्ने या टुरिस्टसँग माग्नेहरू मात्रै छन् । टुरिस्टलाई हैरान गरेर जबर्जस्ती पैसा असुल्न बसेका छन् । पर्यटकलाई सुरक्षा दिन कानुन कार्यन्वयन गर्ने निकायहरु पनि स्पष्ट रूपमा पर्यटक मैत्री भएको देखिँदैन । नेपालमा प्रमुख अन्तर्राष्ट्रिय गन्तव्यहरूबाट थोरै मात्र सीधा उडानहरू छन्, जसले गर्दा नेपाल यात्रा असुविधाजनक र महँगो हुन्छ । दुनियाँको निकै थोरै देशबाट मात्रै काठमाडौँसँग डाइरेक्ट फ्लाइट छ । यसले टाढा रहेका देशका पर्यटकहरूको आगमनलाई सीमित बनाउँछ ।

अमेरिका या बेलायत देखि नेपाल आउने हवाई भाडाले उनीहरु थाईल्याण्ड, इन्डोनेसिया, ब्राजिल, जर्जिया, अर्मेनिया या रोमानिया तिर आरामले यात्रा गर्न र घुम्न सक्छन । नेपाल एयरलाइन्स आफैं टाट पल्टेको अवस्था छ । फ्लाइट क्यान्सल हुनु त सामान्य जस्तै हो । यसबाट दैनिक करोडौको आम्दानी डुबेको छ भने उल्टो यात्रुलाई होटेलमा राखेर ब्यबस्थापन गर्न पर्दा निगम माथि व्ययभार बढेर गएको छ । यसको नेटवर्कमा व्यापक विस्तार नगरी नेपालसँग विश्वको डाइरेक्ट कनेक्सन बढ्नेवाला छैन । डोमेस्टिक फ्लाइटदेखि फूड, ड्रिंक्स सबै महँगो हुँदै गएको छ । आन्तरिक हवाई यात्रामा अकार्यकुशलता, अविश्वसनीयता, र उच्च लागतको समस्या छ, जसले गर्दा पर्यटकहरूलाई निरुत्साहित गर्छ। अचेल दुनियाँमा टुरिस्टको सबैभन्दा ठूलो हिस्सा महिनाको ४०००–६००० डलर कमाउने वर्किङ क्लासका मानिसहरू हुन् ।

त्यसैले उनीहरू सस्तो ठाउँ घुम्न रुचाउँछन् । नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण गर्न पर्याप्त काम नगरेको आरोप सरकारलाई छ । जसले गर्दा कैयन सम्पदा मासिएका छन् । यदि सम्पदाको संरक्षण राम्रो भएमा मात्र पर्यटन अनुभवलाई अझ राम्रो बनाउनुका साथै दीर्घकालीन पर्यटनलाई सुनिश्चित गर्न सकिन्थ्यो । बाहिरी विश्वमा नेपाल असुरक्षित ठाउँ हो भन्ने भाष्य बनेको छ । यसको प्रमुख कारणमा नेपालीहरू आफैं पनि हुन् । दुनियाँलाई हाम्रो देशमा कानुन राम्रो नभएको, बेथिति भएको, विकास नभएको, आपराधिक घटना धेरै हुने गरेको भनेर आफैं नकारात्मक कुरा गर्दै हिँड्छन् । यसबाट विदेशीमा नकारात्मक धारणा बन्नु स्वाभाविक हो । टुरिस्टहरूले कमेन्ट लेख्ने र गुनासो पोख्ने पर्यटकले प्रयोग गर्ने अधिकतर वेब साइट जस्तै लन्लीप्लानेट, एयर बीएनबी, ट्रिपएड्भाइजर, बुकिङ डट कम जस्ता साइटहरूमा आउने गरेको नेपालबारेको नेगेटिभ कमेन्टमा सरोकारवाल कसैले स्पष्टिकरण दिएको, गुनासोको सरोकारवालाले समाधान गरेको या गर्ने प्रयास गरेको देखिँदैन ।

टुरिस्टले घुम्न जानुअघि यस्तै साइटमा अन्य टुरिस्टको प्रतिक्रिया, कमेन्ट हेर्ने गर्छन् । नेपालबारे लेखिएको नकारात्मक कमेन्टहरुले गर्दा नेपाल उनीहरुलाई ठिक नलाग्ने समभावना धेरै हुन्छ । हुन त हामि अतिथि देवो भवःमा विश्वास गर्ने हरु हो। आम नेपालीले टुरिस्टलाइ सम्मान गर्छन तर टुरिस्टले त्यो सब देखेको हुँदैन, उनीहरुले त पर्यटकीय साइटमा लेखिएको कुरा पढ्ने मात्र हुन् । त्यसैले नेपालको बारेमा ब्याप्त रहेको भ्रम चिर्न सरकार, जनता र हाम्रा राजदूताबास अनि विदेशमा रहेको जनता सबको योगदान हुन पर्छ । हरेक स्वदेश र विदेशमा बस्ने नेपालि राष्ट्रको सम्भावना दुत हुन् । प्रत्येक विदेशमा बस्ने नेपालीले आफ्नो एकजना बिदेशी कलिगलाइ नेपाल घुम्नमात्र प्रेरित गर्न सक्यो भने नेपालको पर्यटन क्षेत्रको कायापलट हुन्छ ।

यदि दुबईको पर्यटकको एक तिहाइ भन्दा थोरै अर्थात् २९% प्रतिशत पर्यटक, त्यो भनेको ५० लाख पर्यटक नेपालमा बर्षेनी आउने स्थिति भयो र प्रत्यकले ४२००० मात्र खर्च गर्यो भने पनि १३ खर्ब ४० अर्बको आम्दानी हुन्छ । जुन नेपालको सिङ्गै बजेट हाराहारी हो । स्मरण रहोस् यो सब पैसा डलर या भारुमा आम्दानी हुनेछ। नेपालको बार्षिक राजस्व भन्दा ठुलो रकम हो यो । नेपालको विकास गर्न मुख्य तिन कुरा छन्, पहिलो सम्पूर्ण नेपालीले उत्पादन बढाउने, हरेकले जमिन बाझो नराखी केहि न केहि उत्पादन गर्ने हो भने करिब १५ खर्बले न्म्ए (कुल गार्हस्थ उत्पादन) बढ्छ ।

टुरिजमको प्रमोसनद्वारा टुरिस्ट ५० लाख पुग्दा अर्को १३ खर्बले जिडीपी बढ्छ । निर्यातको लागि कम्तिमा १०,००० एमडब्लु मात्र हाइड्रो निर्यात गर्ने हो भने २५ खर्बको बार्षिक आम्दानी हुन्छ । यो ३ कुरामा नेपालको जुनसुकै पार्टीको सरकारले ध्यान दिन सकेमा नेपाल १०÷१५ बर्षमा सम्पन्न तथा बिकशित राष्ट्र बनाउन गार्हो छैन । कुनै पनि पार्टीले देशको विकासको रोडम्याप बनाउदा अन्तरिक उतपादन, पर्यटन र बिजुली निर्यातलाइ प्राथमिकतामा राखोस् । यो आलेख बिशेस गरि पर्यटन संँग सम्बन्धित भएकोले हरेक नेपालीले सद्भावना दुतको काम गरेर नेपालको बारेमा बाहिर विदेशमा सकारात्मक इमेज प्रस्तुत गरोस भन्ने सुभेच्छा राख्दछ ।

Scroll to Top