रामेछाप । जिल्ला कारागार कार्यालयमा रहेका कैदी वन्दी कारागारको गेट तोडेर भाग्न खोज्दा नेपाली सेनाले गोली चलाएको छ । गोली लागेर तीन कैदी वन्दीको मृत्यु भएको छ भने पन्ध्र कैदी वन्दी घाइते भएका छन् ।

विहिवार विहान कारागार भित्र रहेका सबै कैदीवन्दीहरुले गेटहरु तोडेर सामुहिक रुपमा वाहिर निस्कन खोजेपछि सेनाले कैदी वन्दीहरुलाई रोक्ने प्रयास गरेको थियो । तर कैदीहरु भाग्न मुल गेटको ताला तोडेर बाहिर निस्केपछि सेनाले वाध्य भएर गोली चलाएको हो । गोली लागेर तीन कैदी वन्दीको मृत्यु भएको छ भने पन्ध्र कैदी वन्दीको हाल रामेछाप अस्पतालमा उपचार भइरहेको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।
कारागार कार्यालयमा अहिले नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले चारै तर्फ घेरा हाली सुरक्षा दिइरहेको छ । कारागारको अवस्था अहिले सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक भोलाकुमार भट्टले जानकारी दिए ।


रामेछाप नगरपालिका ८ रामेछाप वजारमा कारागार कार्यालय रहेको छ । कारागारमा ५० जनाको क्षमता भएता पनि अहिले विभिन्न अपराधमा ३ सय जना कैदी वन्दी सो कारागारमा कैद जीवन व्यथीत गर्दै आएका छन् ।