उमाकुण्ड न्यायिक समितिले गर्यो ११४ मुद्धाको फर्स्याैट

रामेछाप । उमाकुण्ड गाउँपालिकाको न्यायिक समितिले गत आर्थिक वर्ष २०७९/८० मा न्यायिक समितिमा दर्ता भएका ११४ वटा मुद्धाको फर्स्याैट गरेको छ ।

वडा स्तरमा भएका विभिन्न घटनाहरु वडा स्तरमा नै नमिलेपछि ती उजुरी पालिकाको न्यायिक समितिसम्म आएका थिए । पालिकाको न्यायिक समितिमा आएका सवै उजुरीहरु मध्ये स्तर छनौट गरी गम्भिर प्रक्रितीका उजुरीलाई पहिलो प्राथमिकतामा राखेर दुवै पक्ष र विपक्ष दुवैलाई राखी विवाद समाधान गरेको उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष एवं न्यायीक समितिकी संयोजक सावित्री सुनुवारले जानकारी दिइन ।

त्यस्तै गम्भिर प्रकृती पछि अन्य उजुरीहरु पनि क्रमशै छलफल गरेर पालिकाको न्यायिक समितिमा परेका ११४ वटै उजुरीहरु आपसी मेलमिलाप प्रक्रियावाट समाधान गरेको हो । न्यायिक समितिले हरेक हप्ताको आइतवार समितिको वैठक नियमित बस्ने र समितिमा आएका उजुरीका बिषयमा छलफल समेत गर्ने गरिएको छ ।

त्यस्तै न्यायिक समिति मार्फत वडा स्तरमा रहेका मेलमिलाप संयोजकहरुलाई पुनर्ताजकी तालिमहरु प्रदान गर्दै आएको छ । अहिले वडा स्तरमा मेलमिलापकर्ता सूचिकृत गराउने, वडा वडामा गएर पुर्नगठन गरेर नयाँ समिति निमार्ण गर्ने जस्ता काम भइरहेका छन् । उमाकुण्ड गाउँपालिका भित्र ६२ जना मेलमिलापकर्ताहरु रहेका छन् ।

उमाकुण्डको न्यायिक समितिमा यस चालु आर्थिक वर्षमा १४ वटा उजुरी परी सकेका छन् । जसमा १२ वटा दुई पक्ष राखेर आपसी समझदारीमा मेलमिलाप गरिएको र वाँकी २ वटा मुद्धाको बिषयमा छलफल भइरहेको पनि न्यायिक समितिकी संयोजक सुनुवारले जानकारी दिइन ।

Scroll to Top