मोटरसाइकल दुुर्घटनामा परी चालकको ज्यान गयो

रामेछाप । लिखु तामाकोशी गाउँपालिकावाट सदरमुकाम मन्थली तर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४३ प ४१८० नम्बरको पल्सर मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको ज्यान गएको छ ।

मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेमा लिखु तामाकोशी गाउँपालिका–४ कोटगाउँका ५७ बर्षिय कमलवहादुर तामाङ रहेका छन् । उनी मोटरसाइकल सर्भिसिङ गर्नको लागि आज दिउँसो घरवाट सदरमुकाम मन्थलीतर्फ आउँदै गर्दा लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङ स्थित मोडमा मोटरसाइकल अनियन्त्रित भई तल्लो मोडमा झरेको थियो । माेटरसाइकलमा उनी मात्र सवार थिए ।

उक्त घटना सडकमा हिड्दै गरेका केही व्यक्तिले देखेपछि घाइते तामाङलाई घटनास्थलवाट उपचारको लागि सदरमुकाम मन्थलीमा रहेको रामेछाप सामुदायिक अस्पतालमा ल्याइएको थियो । उनको उपचारको क्रममा नै ज्यान गएको रामेछाप सामुदायिक अस्पतालका डा.केशव सिंह धामीले जानकारी दिए ।

मृतक तामाङको शव पोष्र्टमार्टमको लागि हाल मन्थली अस्पतालमा राखिएको छ । उनका छोराहरु रोजगारीको सिलसिलामा जिल्ला बाहिर रहेकाले छोराहरु आएपछि शव पोष्र्टमार्टम गरिने र दाहसंस्कारको लागि परिवारलाई जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Scroll to Top