१ सय ७० सुत्केरी भैसीलाई भत्ता

रामेछाप । मन्थली नगरपालिकाले ब्यसायीक रुपमा भैसीपालन गर्दै आएका किसानहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले १ सय ५२ जना भैसीपालक किसानहरुलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता उपलव्ध गराएको छ । 
मन्थली नगरले आफ्नो पालिका भित्र व्यवसायीक रुपमा भैसीपालन गर्दै आएका किसानहरुको मनोबल बृद्धि गरी उनीहरुको आर्थिक स्तर बढोस् भन्नका खातिर चालु आर्थिक वर्षमा १ सय ५२ जना किसानले पालेको १ सय ७० वटा भैसीको लागि प्रति भैसी २ हजार ५ सयका दरले कुल ४ लाख ३५ हजार रुपैयाँ रकम प्रदान गरिएको मन्थली पशु विकास शाखाका प्रमुख मुकुुन्द खड्काले जानकारी दिए । 
उनले भने– पालिका भित्र किसानले व्यवसायीक रुपमा भैसी पालन गर्दै आएका किसानहरुलाई साउन महिना देखी असोज महिनासम्म निवेदन पेश गर्न शुरुमा सार्वजनिक रुपमा सूचना नै प्रकाशन गर्यौ । सोही सूचनाका आधारमा निवेदन पेश गरेका किसानहरुलाई उक्त रकम उपलव्ध गराएका    हौं । पुनः कार्तिक महिनापछि सुत्केरी भएका भैसीलाई प्रोत्साहन भत्ता बापतको रकम किसानहरुले माग गरेपछि थप ५ लाख रुपैयाँ विनियोजन भएको र त्यो रकम पनि किसानहरुलाई बितरण गर्ने तयारीमा आफुहरु लागि परेको प्रमुख खड्काले बताए । 
चौधवटा वडा रहेको मन्थली नगरपालिकामा सुुत्केरी भैसीको प्रोत्साहन रकम लिनेमा सदरमुकाम मन्थली आसपासका वडाहरु मात्रै बढी रहेका छन् । अहिले सुत्केरी भत्ता रकम लिनेमा वडा नं १,२,५,६र ७ का बढी किसानहरु रहेका छन् । नगरपालिकाले निकालेको सूचना टाढाका वडाका किसानहरुले थाहा नपाउँदा पालिका आसपासका किसानहरुले मात्रै आवेदन दिएका हुन् । नगरपालिकाले निकालेको सूचना आफ्नो गाउँमा कुनै पनि भैसी पालक किसानले थाहा नपाएको मन्थली नगरपालिका–१४ का किसान जगत बहादुर भुुजेलले बताए । 
भैसीपालक किसानलाई प्रोत्साहन स्वरुप सुत्केरी रकम प्रदान गरेर नगरपालिकाले राम्रो काम गरेको मन्थली नगरपालिका–१ का किसान बिष्णुु प्रसाद सुुबेदीले जानकारी दिए । उनले भने– नगरपालिकाले थालनी गरेको यो अभियान किसानको लागि अत्यन्तै राम्रो छ । नगरले सिमित वडामा मात्रै नभई समग्र नगरभित्रका किसानलाई यो अभियानमा सामेल गराउनुपर्ने र यो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । 
Scroll to Top