रामेछाप । महिनौदेखी जिल्लाका ग्रामिण भेगका गाउँगाउँमा टेलिफोन नेटर्वक नटिप्ने समस्याले ग्रस्त बनेका ग्राहकको सुनुवाई नेपाल टेलिकमले गर्न नसक्दा दैनिक हजारौं नेपाल टेलिकमका ग्राहकहरुले हैरानी खेप्न वाध्य भएका छन् ।

यो समस्या विगत ८ महिनादेखी जिल्लाका उमाकुण्ड, गोकुलगंगा, लिखु तामाकोशी, दोरम्वा शैलुङ्ग गाउँपालिकाका र रामेछाप र मन्थली नगरपालिकाका नागरिकहरुले भोग्दै आएका छन् । अधिकांश समय फोन सम्पर्क हुन नसक्ने, फोन सम्पर्क भएपनि दुई तर्फी कुनै पनि कुरा नबुझिने र विचमा काटिने समस्याले नेपाल टेलिकमका ग्राहकहरुले सास्ती ब्यहोर्दै आएका छन् ।
त्यस्तै मोवाइलमा पुरै नेटर्वक देखाएपनि डाटा समेत नचल्ने समस्या रहेको छ । टेलिफोन नेटवर्कको समस्या हुँदा वैदेशिक रोजगारीमा गएका आफन्तहरुसँग र अन्य साथिभाईहरुसँग समेत कुरा गर्न, अनलाइन माध्यवाट अध्ययन गर्न, विपद्को समयमा जानकारी दिन समेत समस्या भएको उमाकुण्ड गाउँपालिका–१ वाम्तीका लक्ष्मी कार्कीले जानकारी दिइन ।


मोवाइल नेटवर्कमा समस्या आएको बिषयमा पटकपटक नेपाल टेलिकम कार्यालय मन्थलीमा जानकारी गराउँदा पनि उक्त समस्याको समाधान हुन सकेको छैन् । ग्रामिण भेगमा नेटवर्कको समस्या भएको स्थानियहरुले बारम्वार कार्यालयमा जानकारी गराएता पनि यस कार्यालयवाट केही सुधार गर्न नसकिने नेपाल टेलिकम मन्थलीका प्रमुख अर्जुन पोखरेलले जानकारी दिए ।
उनले भने– माथिल्लो लेकाली भेगमा नेटवर्कको समस्या छ । त्यहाँका स्थानियहरुले पटकपटक कार्यालयमा आएर र टेलिफोन मार्फत पनि जानकारी गराउनु भएको छ । तर यस कार्यालयवाट सुधार गर्न सकिदैन । यहाँवाट त तालुके कार्यालयमा अवगत गराउने बाहेक अन्य विकल्प नभएको बताए ।
विगत वर्षमा नेपाल टेलिकमले राखेको टावरका उपकरणका क्षमता पूर्ण रुपमा प्रयोग भइरहेको र मोवाइल प्रयोगकर्ता ग्राहकहरुको संख्या दिनादिनु बढ्दै गएकाले पनि टेलिफोनको नेटवर्कमा समस्या उत्पन्न हुन सक्ने अनुमान कार्यालयको रहेको छ । ग्रामिण भेगमा टेलिफोन नेटवर्कको समस्याका बिषयमा स्थानियहरुले रामेछापका प्रतिनिधिसभा सदस्य डा.कृष्णहरी बुढाथोकीलाई समेत अवगत गराएका थिए ।
नागरिकहरुको समस्याको समाधानको लागि तत्काल आफुले आवश्यक टेलिफोन टावरका उपकरण थप गर्न र सेवा विस्तार गर्न आफुले पहल गर्ने आश्वासन नागरिकहरुलाई दिएका थिए । उनले सो बिषयमा संघिय संसदमा रामेछापका ग्रामिण भेगमा टेलिफोन नेटवर्कमा समस्याका बिषयमा आवाज पनि उठाए । तर उनको उक्त कुराको अहिलेसम्म कुनै सुनुवाई हुन सकेको छैन् ।
हाल उमाकुण्ड गाउँपालिकाको गुम्देल, वाम्ती, कुवुकास्थली, भुजि, प्रिती लगाएतका स्थानमा र गोकुलगंगा गाउँपालिकाको देउराली, गर्जाग, चुचुरे, ठोसे, पालिका केन्द्र रस्नालु, बेताली, नामाडि, जस्ता ठूला ब्यापारिक केन्द्रहरुमा एनटिफाईबर नेट विस्तार तत्काल गर्नुपर्ने गोकुलगंगा गाउँपालिका–४ बेतालीका बिनोद फुयालले जानकारी दिए ।




