बागमती प्रदेशमा उदाए– लोहार

रामेछाप । सदरमुकाम मन्थलीमा बसेर लामो समयदेखी परम्परागत रुपमा सुन तथा चाँदीका गरगहना बनाउने शिल्पकला पेशा गर्दै आएका न्यु सनराइज ज्वेलर्सका संञ्चालक सिताराम लोहार बागमती प्रदेशमा उदाएका छन् ।

उनलाई नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको नियमावली अनुसार गठन भएको बिषयगत समिति अन्तर्गत कृषि तथा वन समितिको सदस्य पदमा मनोनयन गरेसँगै उनको प्रदेशमा उदए भएको हो । लोहारलाई सदस्य पदमा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष बेद वहादुर श्रेष्ठले मनोनित गरेका हुन् ।

जिल्लामा नै बसेर केही व्यवसाय गरेर देखाउनुपर्छ भन्दै आफ्नो पुख्र्यौली सिप सिकेर डेढ दशकदेखी सदरमुकाम मन्थलीमा सुन व्यवसाय सञ्चालन गर्दै आएका लोहार पछिल्लो समय केवल ज्याला–मजदुरी र निर्माणमा मात्रै सीमित हैन जिल्लाकै सफल उद्यमी र व्यवसायीक नेतृत्वमा समेत पुगेका छन् ।

उनी सुन व्यवसायीहरुको साझा संस्था नेपाल सुनचाँदी कला व्यवसायी संघ रामेछापका सचिव र रामेछाप उद्योग वाणिज्य संघको सचिव पदमा रहेर काम गर्दै आएका छन् । सुन व्यवसायवाट उठेर जिल्ला हुँदै बागमती प्रदेशमा पुग्दा आफुलाई धेरै खुशि लागेको रामेछाप उद्योग वाणिज्य संघका सचिव सिताराम लोहार बताउँछन् ।

उनले भने– सानो व्यवसायवाट शुरु गरि उक्त व्यवसायवाट केही व्यक्तिलाई रोजगारी समेत सिर्जना गरेको छु । अहिले आफ्नो पसलमा केही कामदारहरुले नियमित काम पाएका छन् । अव आफ्नो र केही व्यक्तिहरुको लागि भन्दा पनि जिल्लाका समग्र व्यवसायीहरुको हकहितको लागि आफुले काम गर्नुपर्ने जिम्मेवारी पाएकाले थप जिम्मेवार बनेर काम गर्नुपर्ने अवस्था सिर्जना भएको बताए ।

जिल्लाका व्यवसायीहरुलाई नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले गठन गरेको विभिन्न विषयगत समितिमा समावेश गराउनु एक व्यवसायीको मात्रै हैन समग्र व्यवसायीहरुको हकहितको लागि राम्रो भएको रामेछाप उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष सुरेश उदासले जानकारी दिए ।

उनले भने– रामेछापका व्यवसायी प्रदेश स्तरको महासंघमा आवद्ध हुनु भनेको धेरै राम्रो बिषय हो । जसले जिल्लाका आम व्यवसायीहरुको गुनासा, समस्याका बिषय प्रदेश स्तरमा राख्ने र जिल्लामा धरासयी बन्न लागेको व्यवसायीहरुलाई कसरी टिकाउने र वजार चलायमान बनाउने भन्ने बिषयमा भूमिका खेल्न महत्वपूर्ण हुने अपेक्षा आफ्नो संस्थाले लिएको उपाध्यक्ष उदासले बताए ।

सुन व्यवसायी लोहार सँगै महासंघ बागमती प्रदेशले गठन गरेका अन्य थप समितिहरु मध्ये उद्योग समितिको सदस्यमा कुमार श्रेष्ठ र महिला उद्यमी विकास समितिको सदस्यमा मञ्जु माझीलाई मनोनयन गरेको छ । श्रेष्ठ रामेछाप उद्योग वाणिज्य संघका निर्वतमान महासचिव हुन भने माझी हाल सोही संस्थामा सदस्य पदमा रहेकी छिन् ।

महासंघको बागमती प्रदेशमा मनोनित भएका रामेछाप उद्योग वाणिज्य संघका तीनैजनालाई यहीँ कार्तिक १६ गते वधाई एवं सम्मान कार्यक्रम बागमती प्रदेश हेटौडा–२ स्थित पल्पसा सभागृहमा राखिएको जानकारी संस्थामा प्राप्त भएकाले उक्त जानकारी सम्वन्धित सदस्यहरुलाई पठाइसकिएको रामेछाप उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत नविन केसीले जानकारी दिए ।

Scroll to Top