रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमती

काठमाण्डौ – नक्कली भुटानी शरणार्थी बनाएको प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न काठमाण्डौं जिल्ला अदालतले अनुमति प्रदान गरेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सहभागी भएको प्रमाणको आधारमा गएको वैशाख २० गते अदालतले पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका रायमाझी हिजो आइतवार काठमाण्डौको बूढानीलकण्ठबाट पक्राउ परेका थिए । प्रहरीले उनलाई आज अनुसन्धानका लागि म्याद थप गर्न काठमाण्डौं जिल्ला सरकारी वकील कार्यालयमा लगेको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या हालसम्म १३ जना पुगेको छ । केही दिनअघि मात्रै प्रहरीले यसअघि पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता खाणसहित नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजीत राई, एमाले नेता एवम् पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, गिरोहका नाइके भनिएका केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सागर थुलुङ राई लगायत १२ जनालाई पक्राउ गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान थालेको छ ।

Scroll to Top