काठमाडौँ — दक्षिण एसियाली फुटबल महासंघ(साफ) ले आयोजना गर्ने साफ च्याम्पियनसिपमा मध्यपूर्वको लेबनान पनि सहभागी हुने भएको छ ।
भारतको बेंगलुरुमा यही जुन २१ देखि ४ जुलाईसम्म हुने साफ च्याम्पियनसिपमा लेबनान पनि सहभागी हुन लागेको हो । साफले सोमबार प्रतियोगिताको ८औं टिमका रूपमा लेबनान सहभागी हुने जानकारी दिएसँगै यो कुरा बाहिर आएको हो । केहीदिन अघि बंगलादेशको ढाकामा भएको साफको साधारणसभाले लेबनानलाई साफ च्याम्पियन प्रतियोगितामा सहभागी गराउने निर्णय गरेको थियो । प्रतियोगीतामा दक्षिण एसियाली क्षेत्रबाहिरबाट कुवेत र लेबनान पनि सहभागी हुने भएका छन् । पाँच दिनअघि मात्रै साफले कुवेत पनि साफ च्यापियनमा सहभागी हुने जानकारी दिएको थियो । तेस्रो पक्षको हस्तक्षेपका कारण फिफाको प्रतिबन्धमा परेका कारण श्रीलंका यस पटक प्रतियोगितामा भाग लिन पाउने छैन् ।
साफ च्याम्पियन प्रतियोगितामा बंगलादेश, भारत, भुटान, पाकिस्तान,माल्दिभ्स र नेपालका साथै कुवेत र लेबनान पनि सहभागी हुने भएका हुन् । लेबनान फिफा वरीयतामा सार्क देशभन्दा माथि रहेको छ ।
साफबाट सबैभन्दा माथिल्लो वरीयतामा भारत रहेको छ । भारत १०१ औं स्थानमा रहँदा लेबनान ९९औं स्थानमा रहेको छ । त्यस्तै कुवेत १४३ औं स्थानमा छन् भने नेपाल १७४औं स्थानमा रहेको छ । नेपालभन्दा तल्लो वरीयतामा रहने सार्क देशहरूमा भुटान १८५, बंगलादेश १९२, पाकिस्तान १९५ र श्रीलंका २०७औं स्थानमा रहेका छन् ।