भलिबल च्यालेन्ज कपको ट्रफी सार्वजनिक

काठमाण्डौं । जेठ ८ देखि १४ सम्म नेपालमा आयोजना हुने काभा वुमन्स भलिबल च्यालेन्ज कपको ट्रफी सोमबार सार्वजनिक गरेको छ ।

राष्ट्यि खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले काठमाडौंमा आयोजित कार्यक्रमका बीच ट्रफी अनावरण गरेका हुन् । नेपालको राष्ट्रिय खेलको पहिचान झल्किने गरी ट्रफी निर्माण गरिएको भलिबल संघले जनाएको छ ।

८ टोली सम्मिलित आसन्न प्रतियोगिताको विजेताले यो ट्रफी पाउनेछ । सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर खेलमा सहभागी गराइने छ । समूह ए मा आयोजक नेपालसहित भारत, बंगलादेश र किर्तिस्तान छन् भने समूह बीमा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजाकस्तान बिच खेल हुनेछ ।

२०७४ जेठ ८ मा सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेकाले सो दिन भलिबल दिवस समेत परेको छ । नेपालले सोही दिन किर्गिस्तानसँगको खेलमार्फत प्रतियोगिताको सुरुवात गर्नेछ ।

नेपालबाट खेल्ने टिम तीन महिनादेखि प्रतियोगिताको प्रशिक्षणमा रहदै आएको छ । सन् २०१९ र २०२१ गरी दुईपल्ट सेन्ट्रल एसियन सिनियर वुमेन्स भलिबल प्रतियोगिताको उपाधि जितेको नेपाल परिस्कृत रुपमा आयोजित यो प्रतियोगितामा लगातार अन्तर्राष्ट्रिय उपाधि जित्ने लक्ष्यमा रहेको छ ।

अघिल्ला दुई संस्करण उपाधि जिताएका प्रशिक्षक जगदीश भट्ट सहित बेल्जियमका प्रशिक्षक जान डी ब्रान्टले नेपाल टिमलाई प्रशिक्षण दिइरहेका छन् । यसपल्ट प्रतियोगितामा काजाकस्तान र भारतजस्ता बलिया टोली सहभागिता छ ।

Scroll to Top