रामेछापमा कृषि पर्यटन औद्योगिक मेला प्रदर्शनी हुने

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघ रामेछापले स्थानिय किसान तथा उद्यमीहरुले उत्पादन गरेको वस्तुहरु विक्री वितरणमा सहजता पुगोस् भन्ने उद्धेश्यले कृषि, पर्यटन औद्योगिक मेला प्रदर्शनी आयोजना गर्ने भएको छ । संघले शनिवार पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।

जिल्लाका आठवटै स्थानिय तह सँगको सहकार्यमा गर्न लागिएको उक्त औद्योगिक मेला जिल्ला सदरमुकाम मन्थलीको जिल्ला समन्वय समितिको प्राङ्गणमा यहीँ माघ १६ देखि २६ सम्म ११ दिने मेला आयोजना गर्न लागिएको हो । सो मेलामा किसान र उद्यमीहरुले उत्पादन गरेको कृषि, घरेलु उत्पादन, स्थानीय जडीबुटी लगायत प्रर्दशनी तथा विक्रीवितरणको लागि राखिने रामेछाप उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने– स्थानिय तहहरुसँग भएको सहकार्यमा ७५ वटा भन्दा बढी स्टल राखिने र ती सवै स्टलहरु किसान र उद्यमीहरुलाई निःशुल्क उपलव्ध गराउने व्यवस्था मिलाइएको छ । मेलामा स्टल राख्नेहरुको हकमा प्रति स्टलको एकजनालाई मेला अवधिभरको लागि निःशुल्क खानाको समेत व्यवस्था मिलाइएको छ । एघार दिनसम्म चल्ने उक्त मेलामा २५ लाख रुपैँया खर्च हुने अनुमान गरिएको वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताए ।

मेला प्रत्येक दिन विहानैवाट शुरु हुने छ । मेला हेर्न विहान देखी दिउँसो ३ः३० वजेसम्म प्रवेश गर्नेहरुको हकमा निःशुल्क व्यवस्था मिलाइएको छ । त्यस्तै माघ २० गतेदेखी २६ गतेसम्म दिउँसो ४ वजेपछि मेला स्थलमा प्रवेश गर्नेहरुको हकमा भने प्रति व्यक्ति एकसय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । मेलामा २० गतेदेखी २६ गतेसम्म जिल्ला भित्रका र अन्य जिल्ला वाहिरका ख्याती प्राप्त राष्ट्रिय स्तरका कलाकारहरुले सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्ने भएकाले थोरै भएपनि शुल्क निर्धारण गरिएको महासचिव कुमार श्रेष्ठले जानकारी दिए ।

सोही मेलाको अवसर पारेर रामेछापको पर्यटन, उद्योग, जलश्रोत लगाएत समग्र जिल्लाको विकासका बिषयमा बहस पैरवी गर्नुको साथै किसान र उद्यमीहरुले उत्पादन गरेको वस्तु प्रर्दशनीमा ल्याइएकाहरु मध्ये छनौटको आधारमा उत्कृष्ट २० जनालाई सम्मान तथा पुरस्कारको व्यवस्था समेत मिलाइएको रामेछाप उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत नविन केसीले जानकारी दिए

Scroll to Top