रामेछाप । देशका धेरै जिल्लाहरुमा देखिएको आँखा पाक्ने रोग रामेछापमा पनि देखा परेको छ । एक हप्ताको बिचमा रामेछापमा १२ जना आँखा पाक्ने रोगका विरामी उपचार लिन जिल्ला अस्पताल पुगेका छन् ।
केही दिनदेखी आँखा पाक्ने, आँशु झरिरहने, आँखा घोचिरहने, चिप्रा पर्ने र पोल्ने जस्ता समस्या देखिएका विरामीहरु अस्पतालमा उपचार लिन आउने गरेको जिल्ला अस्पताल रामेछापका मेडिकल सुपरिटेन्डेन डा.गगन अधिकारीले जानकारी दिए । उनले भने– हरेक वर्ष मनसुनको समयमा यो रोग मानिसमा देखा पर्ने गरेको र यो रोग बिस्तार हराउँदै जाने सरुवा रोग भएको बताए ।
स्वस्थ्य मानिसले आँखाका विरामीहरुको आँखामा नहेर्न, आँखाका विरामीले प्रयोग गरेको रुमाल अन्य व्यक्तिले प्रयोग नगर्न चिकित्सकहरुले बताएका छन् । उनीहरुले आँखा पाक्ने रोग देखा परेका विरामीहरुको आँखा ठिक हुन कम्तीमा एक देखी दुई हप्ता लाग्ने बताउँछन् । आँखा पाक्ने रोग कुनै दिर्घरोग नभएता पनि सावधानी नअपनाए चिकित्सकले दिएको भन्दा अन्य औषधी प्रयोग गरे आँखा रोगीको आँखाको दृष्टि नै गुम्ने भएकाले आँखामा कुनै समस्या आए तत्काल नजिकैको आँखा अस्पतालमा गएर उपचार गराउन चिकित्सकहरुले सल्लाह दिएका छन् ।
त्यस्तै आँखा पाक्ने रोगवाट बच्न नागरिकहरुले दैनिक धुवाँधुलोवाट जोगिनु पर्ने, घरबाहिर निस्कदा रेवन चश्माको प्रयोग गर्ने, मनतातो पानी नियमित रुपमा विहान र बेलुका आँखा सफा गर्न र प्रशस्त मात्रामा झोलिलो खानेकुरा र पानी पिउने गर्दा आँखाको रोगवाट जोगिन सकिने चिकित्सकहरु बताउँछन् ।