रामेछाप । रामेछाप नगरपालिकामा अपाङ्गको भत्ता सपाङ्ग नागरिकले खाएको भन्दै उजुरी परेपछि यसअघि वितरण गरिदै आएको अपाङ्ग (सामाजिक सुरक्षा) भत्ता रोकेर रामेछाप नगरपालिकाले पुनः अद्यावधिक गर्न घुम्ती शिविर संञ्चालनमा ल्याएको छ ।
शारिरीक रुपमा अशक्त भएका अपाङ्गहरुको लागि सहज होस् भन्ने हेतुले बिगत वर्षहरुमा रामेछाप नगरपालिकाले गाउँगाउँमै घुम्ती शिविर राखेर अपाङ्ग परिचय–पत्र वितरण गरेको थियो । सोही परिचयपत्रको आधारमा अपाङ्गहरुले श्रेणी अनुसार सामाजिक भत्ता नगरपालिकावाट लिदै आएका थिए । घुम्ती शिविरमा कर्मचारीहरुलाई समेत झुक्काएर अपाङ्गको नाममा सपाङ्गले पनि परिचय पत्र बनाएर भत्ता खादै आएको उजुरी नगरपालिकामा परेपछि नगरले यसअघि वितरण गरेका सवै परिचय–पत्र रद्द गरेको हो ।
यसअघि जारी गरेका सवै परिचय–पत्र रद्द गरेर नगरले पुनःअपाङ्ग छनौटको लागि गाउँगाउँमा घुम्ती शिविर सञ्चालनमा ल्याएको छ । शिविरमा अपाङ्ग परिचयपत्रको लागि आवश्यक कागजात सहित निवेदन पेश गर्नुपर्नेछ । पेश गरिएका कागजातको आधारमा निज अपाङ्ग हो होइन एकिन गर्न जिल्ला अस्पताल रामेछापले सिफारिस गरेको आधारमा श्रेणी छुट्टाएर मात्रै परिचय–पत्र वितरण गरिने भएको छ । वास्थ्य परिक्षणको लागि अपाङ्गहरुलाई अस्पतालसम्म आउन समस्या हुने भएपछि नगरले नै गाडीको व्यवस्था समेत गरेको रामेछाप नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख बिमला कुमारी शर्माले जानकारी दिइन ।
उनले भनिन्– यसअघि अपाङ्गको नाममा सपाङ्गले पनि भत्ता खाएको भन्दै उजुरी परेपछि हामीले पहिला वितरण गरेका सवै परिचयपत्र रद्द गरेर सहि अपाङ्गले मात्रै राज्यले प्रदान गरेको सुविधा लिन सकुन भन्ने उद्धेश्यले पुनः परिचय–पत्र वितरणको लागि शिविर संञ्चालन गरेका छौं । यसपटक भने सहि अपाङ्गले मात्रै परिचय–पत्र पाउने छन् शाखा प्रमुख शर्माले बताइन ।
यसअघि रामेछाप नगरपालिकामा “क” श्रेणीका (रातो कार्ड) २४० जनाले मासिक प्रति व्यक्ति ३ हजार ९ सय ९० को दरले भत्ता रकम बुझ्दै आएका थिए भने “ख” श्रेणीका (निलो कार्ड) १३२ जनाले प्रति व्यक्ति २ हजार २ सयका दरले भत्ता रकम बुझ्दै आएका थिए । यसवाहेक “ग” र “घ” श्रेणीका गरि २४५ जना गरी जम्मा ६१५ अपाङ्ग परिचय–पत्रका कार्ड नगरले जारी गरेको थियो ।
नगरले पुनः नयाँ कार्ड जारी गरेपछि अपाङ्गको नाममा सपाङ्गले खाएको सबै भत्ता रकम बन्द हुने अपेक्षा स्थानियहरुको रहेको छ । रामेछाप नगरपालिकाले यहि कार्किक १३ गतेदेखी संञ्चालन गरेको घुम्ती शिविर कार्तिक १९ गते सम्पन्न हुने रामेछाप नगरपालिकाका अधिकृत नारायण प्रसाद सुबेदीले जानकारी दिए ।
यसअघि रामेछाप नगरपालिकाले वितरण गरेको अपाङ्ग परिचय–पत्र सपाङ्गले नलिएको रामेछाप अपाङ्ग सचेतना केन्द्रका अध्यक्ष बद्री नयाँघरेले जानकारी दिए । उनले भने– नगरले अपाङ्ग परिचयपत्र वितरण गर्दा राखेको घुम्ती शिविरमा आफ्नो संस्थावाट प्रतिनिधिको रुपमा आफु पनि सहभागी भएकाले नगरले वितरण गरको परिचय–पत्र सही अपाङ्गको हातमा परेको छ । केही व्यक्तिले लहडको भरमा उजुरी हालेपछि पुनः अपाङ्ग परिचय–पत्र अद्यावधिक गर्ने काम भइरहेको पनि अध्यक्ष नयाँघरले बताए ।