रामेछाप । यात्रु लिएर खिम्तीको गैरीबाट काठमाण्डौंको लागि छुटेको बा ५ ख ५६२५ नम्बरको यात्रुवाहक बस लिखु तामाकोशी गाउँपालिका–६ खिम्ती स्थित बिर्तामा दुर्घटना हुँदा सो बसमा चालक सहित दशजना यात्रुहरु घाइते भएका छन् ।
शुक्रवार बिहान गैरीबाट सदरमुकाम मन्थली तर्फ आउँदै गरेको सो बस लिखु तामाकोशी गाउँपालिका–६ बिर्ता भन्ने स्थानमा दुर्घटना भएको थियो । सडकको बायाँ भागमा टाएर फिलिङ गरेको माटोमा भासिएपछि गाडी दुर्घटना भएको हो । दुर्घटनामा परेको गाडी सडकवाट करिव २५ मिटर तल रुखमा अड्कीएको छ ।
उक्त गाडी दुर्घटनामा परी बस चालक सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका–५ पिस्कर घर भएका ४० वर्षका यादव खत्री, बसधनी दोलखाको भीमेश्वर नगरपालिका–५ का ४२ वर्षका दीपक श्रेष्ठ पनि घाइते भएका छन् । यसबाहेक घाइते हुनेमा रामेछापको लिखुतामाकोशी गाउँपालिका–६ की २१ बर्सिया सबिना श्रेष्ठ उनकी एक वर्षकी छोरी सुजता श्रेष्ठ घाइते भएका छन् ।
त्यस्तै लिखुतामाकोशी गाउँपालिका–६ की ४२ बर्सिया साबित्रा घिमिरे, सोही स्थानकी ५७ बर्षका मान बहादुर श्रेष्ठ, ५० वर्षका टेकबहादुर श्रेष्ठ, १९ वर्षका झलक बहादुर श्रेष्ठ, ४४ वर्षकी संखकुमारी तामाङ र ४१ वर्षकी शकुन्तला श्रेष्ठ घाइते भएका छन् ।
सबै घाइतेहरुको स्थानिय र प्रहरीले उद्धार गरी हाल मन्थली अस्पतालमा उपचार भइरहेको छ । अधिकांश घाइतेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।